जनकपुरधाम– आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेसवादी दल लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको छ । यी दुई दलबीच भएको सहमतिअनुसार अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रुपाकुमारी यादवलाई दुवै दलले एकअर्कालाई सहयोग गर्ने गरी मतदानमा सघाउने भएका छन् ।

दुवै दलबीच बिहीबार भएको सहमतिमा एमालेका तर्फबाट मधेस प्रदेश अध्यक्ष राम औतार यादव र लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट प्रदेश अध्यक्ष जितेन्द्र सोनलले हस्ताक्षर गरेका छन् ।

दुई पार्टीबीच गठबन्धन भएपनि यसअघि नै सत्तारुढ गठबन्धनमा नेपाली काङग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच गठबन्धन भइसकेको छ । प्रदेश दुईमा दुई गठबन्धन बने पनि सत्ता गठबन्धन बलियो रहेको छ । रिक्त राष्ट्रियसभा सदस्यको लागि अर्को हप्ता अथात् माघ १२ गते बुधबारका दिन निर्वाचन हुँदैछ ।