काठमाडौं — सशस्त्र प्रहरी बल (एपीएफ) ले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि चुमेको छ । उपाधिको होडमा रहेको अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई २१ रनले पाखालगाउँदै एपीएफले उपाधि जित्न सफल भएको हो । दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरे पनि पुलिसलाई जिताउन सफल भएनन् । दीपेन्द्रसिंहले ६५ रन बनाउनुका साथै तीन विकेट लिएका थिए ।

उत्कृष्ट बलिङ गरेको एपीएफले प्रधानमन्त्री कपको उपाधि जितेको यो दोस्रोपटक हो । यसअघि, एपीएफले दोस्रो संस्करणको उपाधि जितेको थियो । गत संस्करणमा त्रिभुवन आर्मी क्लबसँग एपीएफ फाइनलमा हारेर उपविजेतामै सिमित भएको थियो ।

ट्वान्टी–२० स्वरूपमा भने एपीएफ पहिलो विजेता बनेको छ । यो प्रतियोगिता यसअघि एकदिवसीय स्वरूपमा हुँदै आएको थियो ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा पुलिस क्लबका कप्तान मञ्जित श्रेष्ठले एपीएफविरुद्ध टस जितेर बलिङ गरेका थिए । उनको निर्णय सही सावित भएको थियो । एपीएफका खेलाडीले कुनै पनि समय ठूलो साझेदारी गर्न सकेनन् । यद्यपि, एपीएफले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि विजयी नतिजा निकाल्न सफल भयो ।

एपीएफले १९.५ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो । १५८ रनको लक्ष्य पछ्याएको पुलिसले सात विकेट गुमाएर १३६ रन मा समेटिन पुग्दा हारको सामना गर्न पुग्यो । एपीएफका लागि अमर राउटेलाले सबैभन्दा धेरै २९ रन थिए भने लेकेश बम २७ रनमा पवेलियन फर्किंदा सन्दीप जोरा २४, कप्तान शरद भेषावकर १९ र भुवन कार्कीले १७ रन जोडेका थिए ।

पुलिसका दीपेन्द्रसिंह र सागर ढकालले समान तीन विकेट लिए । गुल्सन झाले दुई विकेट लिँदा आरिफ शेख र योगेन्द्रसिंह कार्कीले एक÷एक विकेट लिए । एपीएफका किशोर महतोले तीन विकेट लिँदा अविनाश बोहरा, अमर राउटेला र दीपक बोहराले एक÷एक विकेट लिए ।

कुल १५८ रनको लक्ष्य पछ्याएको पुलिसका लागि दीपेन्द्रसिंहले सबैभन्दा धेरै ६५ रन बनाए । दिलीप नााले २३ रन बनाउँदा आरिफ शेखले १२ र अनिल शाहले १० रन बनाए । अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । जस्ले गर्दा एपीएफले उपाधि चुम्न सफल भयो