फाइल तस्वीर
एजेन्सी – कोरोना महामारीले गर्दा विश्वको पर्यटन व्यवसाय नै धरासायी भएकोहुँदा पूर्ववत् अवस्थामा आउन अझै दुई वर्ष लाग्ने विश्व पर्यटन सङ्गठनले बताएको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन छिट्टै सर्ने भएकाले पर्यटनका गतिविधि पहिल्यैको अवस्थामा फर्किन कम्तिमा दुई वर्ष लाग्ने राष्ट्रसंघीय विश्व पर्यटन ब्यारोमिटरले जनाएको हो ।

सन् २०२० मा पर्यटनबाट प्राप्त हुने राजस्व पहिलेको वर्षको तुलनामा ७२ प्रतिशतले कटौती भएको थियो । कोभिड महामारीको सुरुवातसँगै विश्वको पर्यटन गतिविधि ठप्प रहेको थियो ।

‘महामारीका कारण विभिन्न यात्रा प्रतिबन्ध, लकडाउन, विकासोन्मुख देशमा खोप पहुँचमा ढिलाई र यात्रुमा घट्दो आत्मविश्वासका कारण पर्यटन गतिविधि विश्वव्यापी रुपमा नै सुस्त छ’, युएनडब्लूटीओले एक प्रेस विज्ञप्तिमा भनेको छ ।

तर, सन् २०२१ को अन्त्यतिर भने पर्यटकहरुको चहलपहल तुलनात्मक रुपमा केही बढेको उल्लेख छ । गत वर्ष युरोप र अमेरिकामा क्रमशः १९ र १७ प्रतिशतले पर्यटकको सङ्ख्या बढेको थियो । तर, मध्यपूर्वमा भने २४ प्रतिशतले ह्रास आएको थियो भने एसिया प्रशान्त क्षेत्रमा सन् २०२० मा ६५ प्रतिशतले घटेको छ ।