काठमाडौं – साताको दोस्रो दिन आज सोमबार सेयर बजार परिसूचक नेप्से चार महिना अगाडिको बिन्दुमा पुगेको छ । साताको दोस्रो कारोबार दिन सोमबार उताचढावबीच नेप्से परिसूचक २० दशमलव ६९ अङ्कले वृद्धि भएर २९४७ दशमलव ६९ अङ्कको बिन्दुमा पुगेको छ । २०२१ सेप्टेम्बर १३ मा २९४७ दशमलव ८३ अङ्कमा रहेको नेप्से डिसेम्बर १३ मा २२८१ दशमलव ६७ अङ्कमा झरेको थियो । त्यसपछि बीचमा सामान्य करेक्सन भएपनि २३ कारोबार दिनमा नेप्सेमा ६६६ अङ्क भन्दा माथिको वृद्धि भइसकेको छ ।

नेप्से ४ महिना अगाडिकै उचाईमा फर्कीए पनि कारोबार रकमले भने पुरानो लय समाउन सकेको छैन । आज नेप्सेमा १ करोड ४४ लाख ७४ हजार ७ सय १३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९० करोड १८ लाख ९१ हजारको कारोबार भएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा १ दशमलव ०३ प्रतिशतले वृद्धि हुँदा विकास बैंक, वित्त कम्पनी, लघुवित्त र लगानीलगायतको उपसूचकमा गिरावट बाबजुत पनि नेप्से भने बढेको छ । विकास बैंक, वित्त कम्पनी , लघुवित्त र लगानी र व्यापार उपसूचकमा भने समान्य गिरावट भएको छ । आज बजारमा हाइड्रोपावर उपसूचक पनि १ दशमलव ६१ प्रतिशतले वृद्धि हुँदा जीवन बिमा र निर्जीवन बीमा उपसूचक पनि बढेको छ ।

हाइड्रोपावर उपसूचकमा सर्वाधिक वृद्धि हुँदा धेरै रकमको सेयर कारोबार हुनेमा पनि हाइड्रोपावर कम्पनी नै रहेका छन् । अरूण भ्याली हाइड्रोपावरको करिब ४५ करोडको कारोबार हुँदा अपी पावरको ४१ करोड र अपर तामाकोशी हाइड्रोपावरको २४ करोडको कारोबार भएको छ । आज नेप्सेमा १८९ कम्पनीको सेयर कारोबार भएकोमा ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८१ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको भने स्थिर रह्यो । आज कारोबार भएकामध्ये भोटेकोशी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि हुँदा सिङ्गटी हाइड्रोपावरको ८ दशमलव १९ प्रतिशत, सिइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८ दशमलव ०१ प्रतिशत र एनआरएन इन्फ्रास्ट्रचर एन्ड डेभलपमेन्ट कम्पनीको ७ दशमलव ७८ प्रतिशतले बढेको छ ।

यता आइतबार सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द भएको स्ट्यान्डर्ड चाटर्ड बैंकको सेयरमूल्य आज सर्वाधिक २ दशमलव १९ प्रतिशत गिरावट हुँदा समिट लघुवित्तको २ दशमलव ६९ प्रतिशत, युनिलिभर नेपालको २ दशमलव ५ प्रतिशत र ग्रिनलाइफ हाइड्रोपावरको सेयरमूल्य २ दशमलव ०५ प्रतिशतले घटेको छ ।