काडमाडौं – प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम निर्धारण भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको हो । प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएकोमा जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ मत परेको हो ।

यो प्रस्ताव अन्तर्गत प्रदेशको राजधानी धनुषा जिल्लाको उत्तरमा ढल्केबर पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाभित्रको सम्पूर्ण भूभाग समेटिएको जनकपुरधाम रहने उल्लेख छ । सोमबार धारणा राख्ने सांसदहरु अशोककुमार यादव, सञ्जयकुमार, डिम्पलकुमारी झा, उपेन्द्र महतो, मञ्जुकुमारी यादव र सत्रुधन महतोले मधेश प्रदेश र जनकपुर राजधानी हुनुपर्ने बताउनुभयो । सांसद मनोजकुमार सिंहले प्रदेशको नाम जानकी र राजधानी जनकपुर राखिनुपर्ने बताउनुभयो । ‘कम्युनिस्टहरु धार्मिक भन्छन् । जानकी यो धार्मिक कुरा होइन यो इतिहास हो ’ उहाँले भन्नुभयो ।

सांसद रामसरोज यादवले नाम मिथिला भोजपुरा र राजधानी जनकपुर हुनुपर्ने बताउनुभयो । सांसद रमेशप्रसाद कुर्मीले नाम मधेश प्रदेश र राजधानी वीरगञ्ज हुनुपर्ने बताउनुभयो । नेपाली काङ्ग्रेसका प्रदेश नम्बर २ का सदस्य राम सरोज यादवले भने प्रदेश २ को नाममाथिको भोटिङ तत्काललाई स्थगन गर्ने प्रस्ताव गर्नुभयो । ‘यदि अवस्था र परिस्थिति मिल्छ भने राजधानीबारे भोटिङ गरेर बसौं र नामकरणबारे फेरि पनि छलफल गरौं’ उहाँले भन्नुभयो ।