काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ४ हजार ९ सय ६१ जना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ५६२ जनाको पीसीआर विधि र २ हजार ५६९ जनाको एन्टिजेन विधिबाट गरी कुल १५ हजार १ सय ३१ जनाको कोरोना सङ्क्रमणको परीक्षण भएको थियो ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६२० पुगेको छ । यस्तै आइतबार ४३५ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल नेपालमा २५ हजार ६८० जना सक्रिय सङ्क्रमित रहेका छन् ।


आइतबार सङ्क्रमित भएका मध्ये अधिकांश काठमाडौं उपत्यकामा भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा मात्रै ३ हजार ३४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौमा २५४५ जना, ललितपुरमा ४७४ जना र भक्तपुरमा ३२८ जनामा सङ्क्रमण पुष्टिभएको हो ।