काठमाडौं– त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुने भएका छन् । आइतबार दिउँसो १ बजे सुरु हुने पहिलो खेल साविक च्याम्पियन मछिन्द्र क्लब र बिग्रेड ब्वाइज क्लबबीच हुनेछ । कमजोर मानिएको ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै मछिन्द्रले ४ अङ्कको अग्रता लिने दाउमा रहेको छ । तालिकाको पहिलो स्थानमा रहेको मछिन्द्रले र दोस्रो स्थानमा रहेको मनाङ् मस्र्याङ्दी क्बलसँगको अङ्कदुरी बढाउन आजको खेल जित्नुपर्ने हुन्छ ।


मछिन्द्रको अग्रपङ्क्ति बलियो छ । कप्तान सुजल श्रेष्ठसहित अभिषेक रिजाल, विमल घर्तीमगर, मनिष डाँगी, विदेशी खेलाडी नुर्लान जस्ता उत्कृष्ठ खेलाडीहरु अग्रपङक्तिबाट खेल्ने खेलाडी हुन् । यसैगरी गोलरक्षक विशाल श्रेष्ठ पनि सक्षम किपर हुन् । पहिलो खेलमा एनआरटीसँग पराजित भएको मछिन्द्र त्यसपछिका खेलमा सतप्रतिशत नतिजा निकाल्दै अघिबढेको छ ।


यता ब्रिगेड ब्वाइज क्लब पनि आफ्नो खेललाई सुधार गर्दै मछिन्द्रविरुद्ध जित निकाल्दै अङ्क तालिकामा माथि उक्लन चाहन्छ । उसले आज मछिन्द्रलाई हराउन सके ३ अङ्क थपेर ९ अङ्क जोड्ने सपना लिएर मैदानमा उत्रने छ । ब्रिगेड ब्वाइज क्लब अङ्कतालिकामा ६ अङ्क सहित १२ औं स्थानमा रहेको छ ।

आजै हुने अर्कोे खेलमा विभागीय नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच भिडन्त हुने छ । अपरान्ह्र ४ः४५ बजे सुरु हुने खेलमा पुलिस क्लब पनि जितको खोजिमा रहेको छ । जारी लिगमा पुलिस ८ खेलबाट ७ अङ्कसहित ११ औं स्थानमा छ भने च्यासल समान खेलबाट ५ अङ्कसहित १३ औं स्थानमा छ । जारी लिगमा ब्रिगेड ब्वाइज, पुलिस क्लब र च्यासल रेलिगेसनबाट अहिलेसम्म सुरक्षित हुन सकेका छैनन् । चौध क्लब सहभागी लिगमा पुछारका दुई टिम ‘बी’ डिभिजन लिगमा घटुवा हुनेछन् ।