टोंगा— प्रशान्त महासागरमा रहेको टापु राष्ट्र टोंगामा समुद्रमुनिको ज्वालामुखी गतिविधिका कारण सुनामीको छाल आउँदा जनजीवन प्रभावित भएको छ । प्रशान्त महासागरको दक्षिण क्षेत्रमा पानीमुनि भएको ज्वालामुखी बिस्फोटका कारण सुनामीको चेतावनी दिइएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका फुटेजहरुमा ज्वालामुखी बिस्फोटपछि टोंगामा स्थानीय बासिन्दाहरु भाग्दै गरेको देखिन्छ । एक मिटरभन्दा अग्लो पानीको छाल बस्तीमा पसेको फुटेजमा देखिएको छ । टोंगाका केही बजारहरु समुद्रबाट आएका सुनामी छालको डुबानमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आकाशमा ज्वालामुखीको धुवाँ पुगेकाले अँध्यारो भएको थियो । टोंगाको प्रमुख आइल्याण्ड (टापु) ज्वालामुखीबाट निस्किएको खरानीले ढाकिएको हुनसक्ने चेतावनी वैज्ञानिकले दिएका छन् ।

प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा भएको ज्वालामुखी बिस्फोटपछि अमेरिका र जापानले प्रशान्त महासागरको तटीय क्षेत्रमा रहेका बासिन्दाहरुलाईे सुनामीको छाल आउनसक्ने भन्दै सुरक्षित स्थानमा जान अनुरोध गरेका छन् । जापानले तीन मिटरसम्म अग्लो छाल आउन सक्ने चेतावनी दिएको थियो । जापानको दक्षिणी तटीय क्षेत्रमा १.२ मिटर अग्लो पानीको छाल ठोक्किएको छ । अमेरिकाले पनि तटीय क्षेत्रहरुमा ठूलो छाल आउन सक्ने र बाढीले जनजीवन प्रभावित हुन सक्ने सचेत गराएको छ । तर बैज्ञानिकहरुले भने समुद्रमुनिबाट बिस्फोट भएको ज्वालामुखी भीषण रहे पनि सुनामी नै आउन सक्ने सम्भावना भने नदेखिएको बताएका छन् । तर टोंगाको अवस्था भने निकै गम्भीर रहेको उल्लेख गरिएको छ ।