काठमाडौं – सरकारले आइतबारदेखि कोरोना भाइरस विरुद्ध बुस्टर डोज खोप दिने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सन्त्रास फैलिएसँगै नेपालमा पनि बुस्टर डोज खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले पुष ३० गते शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गर्दै अग्रपङक्तिमा खटिने चिकित्सक, प्रहरी, कर्मचारी, सञ्चारकर्मीलगायतलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन निर्देशनात्मक आग्रह गरेको थियो ।

मन्त्रालयको निर्देशन अनुसार आजदेखि पहिलो चरणमा अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर सङ्कलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरुले बुस्टर डोज पाउनेछन् ।

यसैगरी सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्टर डोज दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । माघ १४ गतेदेखि दोस्रो चरणमा ६० वर्षमाथिका जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई बुस्टर डोज दिने बताइएको छ । बुस्टर डोज पाउन पूर्णमात्रा खोप लगाएको ६ महिना पूरा भएको हुनुपर्ने छ । पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको छ, बुस्टर डोजमा पनि त्यही खोप दिइने मन्त्रालयले बताएको छ ।