काठमाडौं – नेपालमा कोरोना भाइरसको सङ्क्रमणले महामारीको रुप लिने सङ्केत देखिएको छ । एक हप्तादेखि निरन्तर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या अपत्यारिलो ढङ्गले बृद्धिभएसँगै महामारीको खतरा देखिएको हो । पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा १३ हजार ४७४ जनाको पीसीआर र ७ हजार ८६ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको सङ्क्रमण भए नभएको परीक्षण गरिएकोमा उक्त सङ्ख्यामा कोरोनाको सङ्क्रमण पुष्टि भएको हो ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । आज शुक्रबार ३ सय ६ जना कोरोना भाइसरको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका छन् । हाल देशभर १८ हजार २३५ सक्रिय सङक्रमित रहेका छन् ।


काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार ९ सय १३, ललितपुरमा ३७७ जना र भक्तपुरमा ३ सय १७ सङ्क्रमित थपिएका छन् । काठमाडौं उपत्यका कोरोना भाइरसको हटस्पट बनेको छ ।