काठमाडौं – हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच हुने भनिएको मर्जर अन्तत तुहिएको छ । दुवै बैंकबीच नौ महिना अघि एक आपसमा गाभिने सहमति गरेका थिए । हिमालयन बैंकका साधारणसभाले मर्जरमा जाने प्रस्तावलाई अस्वीकृत गरेपछि दुई बैंकबीच हुने भनिएको मर्जर अन्तिम समयमा आएर तुहिएको हो । मर्जर विशेष प्रस्ताव स्वीकृत हुन ७५ प्रतिशत सेयर सदस्यहरुको मत प्राप्त हुनुपर्ने प्रावधान रहेको र मर्जरका निम्ति ७५ प्रतिशत मत प्राप्त नभएको पछि दुई बैंकबीच हुने भनिएको मर्जर प्रकृया नै रोकिन पुगेको छ । हिमालयन बैंक अधिकांश सदस्यहरु मर्जरको विपक्षमा देखिएका थिए ।


हिमालयन र इन्भेस्टमेन्ट बैंकबीच ३० वैशाख २०७८ मा मर्जरको प्रारम्भिक सहमति भएपछि दुवै बैंकले राष्ट्र बैंकमा निवेदन दिएका थिए । राष्ट्र बैंकले २०७८ जेठमा मर्जरको सैद्धान्तिक स्वीकृति दिएको थियो ।


गत जेठमै नेपाल राष्ट्र बैंकले मर्जरको प्रारम्भिक स्वीकृत दिएको र तीन महिनाभित्र मर्जर सम्पन्न गर्नुपर्ने भए पनि हिमालयन बैंकमा मर्जरको विषयमा भएको विवादले राष्ट्र बैंकबाट दुई पटकसम्म समय थप भएको थियो । हिमालयनले आफ्नो छुट्टै अस्तित्वलाई नै निरन्तरता दिने बताएको छ । बैंकमा २० प्रतिशत सेयर रहेको कर्मचारी सञ्चय कोषसमेत नेपाल इन्भेस्टमेन्टसँगको मर्जरको विपक्षमा रहेकोले दुवै बैंकबीच मर्जर हुन सकेन ।


राष्ट्र बैंकबाट मर्जरका लागि सैद्धान्तिक सहमति लिएपछि पनि मर्जर नगर्ने भएपछि हिमालयन बैंक माथि नेपाल राष्ट्र बैंकले कारबाही गर्न सक्ने छ । बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को विविध व्यवस्थामा कारबाही सम्बन्धी व्यवस्था गरिएको छ ।