वासिंटन– युक्रेनको विषयलाई लिएर अमेरिका र रुसबीच शीतयुद्ध चलिरहेको छ । युक्रेनको विषयलाई लिएर अमेरिकाकी उपविदेशमन्त्री वेण्डी शरमनले रुसलाई चेतावनी दिँदै पश्चिमी देशसँग राजनीतिक सम्बन्ध सुरधा गर्ने या मुटभेटको अवस्था सिर्जना गर्ने भन्ने एउटा विकल्प रोज्न रुसलाई चेतावनी दिएकी छन् ।

रुसले आफ्नो सेना युक्रेन क्षेत्रको नजिक राखेर युक्रेनलाई दवाव दिएको आरोप अमेरिकाले लगाउँदै आएको छ । रुस र युक्रेनबीच जारी तनावलाई लिएर नेटो देश र रुसबीच वार्ता भएको थियो । सोही वार्तापछि अमेरिकी उपविदेशमन्त्री वेण्डीले राजनीतिक सम्बन्ध वा तनाव के चुन्ने भन्ने विकल्प रुससँग रहेको बताएकी हुन् ।

रुसका उपविदेशमन्त्री एलेक्जेण्डर ग्रश्कोका अनुसार रुसले युक्रेन नेटोको सदस्य कहिल्यै बन्न नहुने बताएको छ । यता अमेरिकी उपविदेशमन्त्री वेण्डीका अनुसार युक्रेनलाई नेटोमा सामेल हुनबाट रोक्न कसैले पनि नसक्ने बताएकी छन् । अमेरिका वा नेटो सदस्य राष्ट्रहरुले युक्रेनलाई नेटोमा आवद्ध गराउन चाहिरहेका छन् ।

युक्रेनको सीमामा रुसले आफ्ना सैनिक तैनाथ गरेपछि पश्चिमा देश र रुसबीच तनाव बढेको छ । रुसमाथि अमेरिका र नेटो सदस्य राष्ट्रहरुले रुसी सैनिक तत्काल फिर्ता गर्न दवाव दिंदै आएका छन् । रुसले युक्रेनको सीमामा झण्डै एक लाख सैनिक तैनाथ गरेपछि आक्रमणको तयारी भएको आशङ्का अमेरिका र नेटो सदस्य राष्ट्रहरुले गरेका छन् । तर रुसले भने त्यस्तो कुनै तयारी नरहेको दाबी गर्दै आएको छ ।

पछिल्लो समय युक्रेनको विषयलाई लिएर अमेरिका र रुसबीच वार्ता र छलफल भैरहेता पनि अमेरिकाले रुसमाथि दबाव दिंदै आएको छ । रुसले युक्रेनी सीमा क्षेत्रबाट आफ्नो सेना फिर्ता नलगे गम्भीर अवस्था आउने भन्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले एक हप्ता अघि चेतावनी दिएका थियो । त्यसअघि अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन सम्वाद समेत भएको थियो ।