कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा सङ्क्रमणदर ह्वात्तै बढिरहेका बेला डब्लूएचओले चेतावनी दिएको छ । पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोनको लहरले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका हान्स क्लुगीले बताएका छन् ।

जर्मनीमा अहिले दिन प्रतिदिन कोभिड १९ का सङ्क्रमितहरू बढ्दै गएको पाइएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार बुधबार मात्र ८० हजार ४ सय ३० जना सङ्क्रमित भेटिएका छन् । यो संख्या यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखिकै एकै दिनमा देखिएको यो सबैभन्दा धेरै हो । जर्मनीमा ठूलो संख्याका नागरिकले खोप लगाइसकेका छन् । ७२ प्रतिशतभन्दा बढी नागरिकले दुवै मात्रा खोप लगाएका छन् ।

त्यस्तै करिब तीन करोड ७० लाख नागरिकले खोपको बुस्टर डोज पनि लगाएका छन् । तर पनि पछिल्लो समयमा यहाँका ठूलो संख्याका नागरिकमा सङ्क्रमण बढ्दै गएको पाइएको छ । युरोपका धेरै देशमा पछिल्लो समयमा कोरोनाको सङ्क्रमण बढ्दै गएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । आगामी आठ साताभित्र युरोपको आधाभन्दा बढी जनसंख्यामा कोभिड सङ्क्रमित हुने चेतावनी पनि सङ्गठनले दिएको छ ।