बार्सिलोनालाई पराजित गरेर रियल मड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा रियल मड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई ३–२ ले पराजित गरेको हो ।

रियलले बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै उपाधि होडलाई कायमै राखेको हो । २५औँ मिनेटमा भिनिसियस जुनियरले गोल गरेर रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए । बार्सिलोनाका लागि ४१औँ मिनेटमा लुक डी जोङले बराबरी गोल गरे ।

७२औँ मिनेटमा करिम बेन्जिमाले गोल गरेर फेरि रियल मड्रिडलाई अग्रता दिलाए । तर ८३औँ मिनेटमा आन्शु फातीले बार्सिलोनाका लागि बराबरी गोल गरे। अतिरिक्त समयको ९८औँ मिनेटमा फेडेरिको भाल्भेर्डीले रियल मड्रिडका लागि विजयी गोल गरे । अब रियल मड्रिडले उपाधिका लागि एथ्लेटिको मड्रिड वा एथ्लेटिको बिल्बाओसँग प्रतिस्पर्धा गर्नेछ । बिहीबार दोस्रो सेमिफाइनल खेल हुनेछ । आगामी आइतबार फाइनल खेल हुनेछ ।