काठमाडौं – विगत एक हप्ता यता देशभर कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्दै गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै थप २ हजार ४ सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६ सय ४८ पीसीआर तथा ४ हजार ३ सय ८५ जनामा एन्टिजेन परीक्षण गर्दा २ हजार ४ सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका भएको हो । गत २४ घण्टाको अवधिमा थप १ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमण बाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ७ जना पुगेको छ ।

यस्तै आज ३ सय १३ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् भने हाल देशभर ९ हजार ५ सय २२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी काठमाडौं उपत्यकामा मात्रै आज १ हजार २ सय ४६ जना सङ्क्रमित भएका छन् । जसमध्ये काठमाडौंमा ९ सय ८० जना, ललितपुरमा २२१ जना र भक्तपुरमा ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।