काठमाडौं – साताको तेस्रो कारोबार दिन आज मङ्गलबार शेयर बजार परिसूचक नेप्से ४९ दशमलव १९ अङ्कले बढेर २८३४ दशमलव १३ विन्दुमा पुगेको छ । मङ्गलबार कारोबारको सुरुवातमा उच्च अङ्कले बढेको नेप्से दिनभर उत्तरचढावका बीच अन्तिम समयमा २८४८ बिन्दुमा पुगेर तल झरेको छ । मङ्गलबार सेन्सेटिभ इण्डेक्स पनि ६ दशमलव ३४ अङ्कले बढेको छ ।

आज कारोबारमा आएका २३२ कम्पनीका १ करोड १९ लाख ७० हजार कित्ता शेयर ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से उकालो लागे पनि आज कारोबार रकम भने सोमबारको तुलनामा केही घटेको छ । अघिल्लो कारोबार दिन ७ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

नेप्से बढेसँगै १३ समूहमध्ये उत्पादन तथा प्रशोधनबाहेक अन्य सबै समूहको सूचक पनि बढेको छ । वित्त समूहको सूचक सबैभन्दा बढी ६ दशमलव १५ प्रतिशत बढेको छ । लघुवित्त, जीवन बीमा, होटल तथा पर्यटन र विकास बैंकको सूचक ३ प्रतिशत र जलविद्युत्, लगानी र निर्जीवन बीमा समूहको सूचक २ प्रतिशतभन्दा बढीले बढेको छ । तर, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ० दशमलव ४३ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका ५ कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्य भोटेकोशीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सिभिल लघुवित्त, न्यादी हाइड्रोपावर र मितेरी डेभलपमेन्ट बैंकको शेयर ९ प्रतिशतभन्दा बढी बढेको छ । यता माउन्टेन इनर्जी नेपालको शेयर मूलय भने ३ दशमलव ५२ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा १६ करोडभन्दा बढीको शेयर कारोबार भएर अपी पावर कम्पनी पहिलो स्थानमा रहेको छ भने दोस्रोमा गोर्खाज फाइनान्स रहेको छ ।