वीरगञ्ज — प्रदेश २ को स्थायी राजधानी देशकै आर्थिक नगरीका रूपमा परिचित वीरगञ्जलाई बनाउन दबाब सिर्जना गर्न थालिएको छ । वीरगञ्जलाई प्रादेशिक स्थायी राजधानी बनाउन दबाव दिन ज्ञापनपत्र बझाउनेदेखि मुख्यमन्त्रीको निवासमा धर्ना बस्नेसम्मको कार्यक्रम सार्वजनिक गरिएको हो ।

वीरगञ्ज राजधानीको पक्षमा आवाज उठाउँदै आएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)खका नेता राजेशमान सिंहको समूहले पुस २८ गते बुधबार प्रदेश २ लोसपा संसदीय दलका नेता जितेन्द्र सोनललाई ज्ञापनपत्र बुझाउँदैछन् भने ३० गते शुक्रबार प्रदेशका मुख्यमन्त्रीको वीरगञ्ज निवास अगाडि शान्तिपूर्ण धर्ना एवं प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।


देशकै प्रमुख आर्थिक नगरीका रूपमा परिचित वीरगञ्जलाई नै प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने भन्दै पर्साबाट निर्वाचित प्रदेशसभा सदस्य प्रल्हाद गिरी, लोसपा नेता प्रेमबाबु पटेल, मुकेश द्विवेदी, उमेश सहनी, सुजित गिरीलगायतको माग छ ।


मधेस आन्दोलनलाई सार्थक बनाउन वीरगञ्जले खेलेको भूमिका र सहिदको बलिदानीको मूल्याङ्कन गरेर वीरगञ्जलाई प्रदेश २ को राजधानी कायम गर्नुपर्ने वीरगञ्जवासीको माग छ । रासस