काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली उर्फ केपी ओलीले आफ्नो पार्टी बाहेक नेपालका सबै कम्युनिस्ट पार्टीहरु वामपन्थीको खोल ओडेर दक्षिणपन्थीको सेवामा लागेको आरोप लगाउनु भएको छ । एमाले अध्यक्ष ओलीले आज सोमबार एमाले सङ्खुवासभा जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नेक्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

अध्यक्ष ओलीले आफूलाई वामपन्थी भन्ने दलहरु प्रतिक्रियावादीहरुको खेमामा पुगेको भन्दै देशमा परिवर्तन चाहने एकमात्रै वामपन्थी पार्टी भनेको एमाले नै भन्ने दावी गर्नुभएको छ । जिल्ला अधिवेशनमा उपस्थित कार्यकर्ताहरुलाई सम्बोधन गर्नेक्रममा नेता ओलीले ‘वामपन्थीको खोल ओडेका पार्टीमा साथीहरु अलमल नगर्नुहोस् । एमाले मात्रै परिवर्तन चाहाने, देशमा उन्नती, प्रगति चाहाने, सामाजिक न्याय र समानता दिने पार्टी हो’ भन्नुभएको छ । उहाँले ‘वामपन्थी खोल ओडेर प्रतिक्रियावादी काम गर्ने दक्षिणपन्थीको सेवामा समर्पित हुने, कम्युनिष्ट पार्टी फुटाउने, सरकार ढाल्ने र आफूलाई दक्षिणपन्थी खेमामा समाहित गर्ने तत्व र तीनका पार्टीमा नलाग्न समेत आग्रह गर्दछु’ भन्नुभएको छ ।

एमालेको काँधमा देश बनाउने अभिभारा रहेको भन्दै अध्यक्ष ओलीले त्यो अभिभाराबाट एमाले नभाग्ने जिकिर गर्नुभयो । ओलीले देश विकासका लागि एमाले नै चाहिने भन्दै एमाले नेतृत्वको सरकारबाहेक अरुले देशको विकास गर्न नसक्ने भन्दै नेता ओलीले देशमा विकासको लहर ल्याएको उदाहरण दिदै त्यही विकास देख्न चाहनेहरुले आफ्नो नेतृत्वको सरकार ढालेको आरोप लगाउनु भएको छ । ‘विकासका लागि एमाले नै चाहिन्छ, किमाथाङका सडक एमालेले सुरुवात गर्यो । विराटनगर–किमाथांको बाटो निर्माण भइसकेपछि चीन र समुद्रसँगको नेपालको सम्बन्ध नटुट्ने दावीसमेत गर्नुभयो । एमाले अध्यक्ष ओलीले नेपाल विश्वको १ नम्बर सुन्दर देश हो भन्दै प्राकृतिक रुपमा मात्रै होइन, सुशासन, स्वच्छता, मानवीयता र जनताको सुखको हिसावले यसलाई एक नम्बर देश बनाउने दावी समेत गर्नुभएको छ ।