काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर अझै बढ्न सक्ने बताउनुभएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बोल्दै गभर्नर अधिकारीले डिपोजिटको लागत बढेको कारणले आगामी दिनमा पनि कर्जाको ब्याजदर बढ्ने निश्चित भएको बताउनुभएको हो । तर, उहाँले राष्ट्र बैंकले ब्याजदर बढेपनी साना ऋणीलाइ प्रोटेक्सन गर्ने नीति ल्याउने बताउनुभयो ।

गभर्नर अधिकारीले तरलता अभावले निक्षेपको ब्याजदर वृद्धि हुँदा कर्जाको पनि बढिरहेको बताउनुभएको हो । उहाँका अनुसार असार मसान्तसम्म औसत ८ दशमलव ८३ प्रतिशत रहेको कर्जाको ब्याजदर कात्तिक मसान्तसम्म ९ दशमलव १ प्रतिशत पुगेको छ । उहाँले अहिलेको तरलता सङ्कट अघिल्ला वर्षका झैं नभएर दीर्घकाल भएको बताउनुभएको छ । गभर्नर अधिकारीका अनुसार, “अघिल्ला वर्षहरुमा पनि तरलता समस्या हुन्थ्यो तर, यो वर्ष भने बैंकिङ प्रणालीमा दीर्घकालीन तरलता समस्या हुने देखिएको छ, चालू आर्थिक वर्षको सुरुवातबाटै देखिएको तरलता समस्या अझै लम्बिने सङ्केत गरेको छ ।” राष्ट्र बैंकले पनि व्यवस्थापनका लागि धेरै मौद्रिक उपकरण प्रयोग गरिरहेको उहाँको भनाइ छ ।

उहाँले उच्च आयातको प्रभाव तरलतामा परेको बताउनुभयो । ‘उच्च आयातको प्रभाव सञ्चितिमा, सोधनान्तर र चालु खातामा मात्रै नभएर तरलतामा पनि पर्यो,’ उहाँले भन्नुभयो, ‘उच्च आयात फाइनान्स गर्न कर्जा उच्च वृद्धि भयो, कर्जा आयात गर्न नगएको भए उच्च वृद्धिले पनि समस्या हुने थिएन ।’ ‘यो वर्ष राष्ट्र बैकंले सबै प्रकारका उपकरण प्रयोग गरेर बजारमा २७ खर्ब २१ अर्ब रकम बजारमा पठाएको जानकारी गराउँदै अधिक तरलता क्षमता २ खर्ब रुपैयाँ मात्रै भएको तर यो वर्ष ४ महिनामा ३ खर्बको आयात हुँदा तरलतामा चाप परेको उहाँले बताउनुभयो ।