भारत – छिमेकी देश भारतमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । पछिल्लो २४ घण्टामा झण्डै एक लाख ८० हजार जनामा सङ्क्रमण पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार एकै दिन एक लाख ७९ हजार ७२३ जना नयाँ सङ्क्रमित थपिएका हुन् । यस्तै १४६ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ ।

भारतमा अहिले सक्रिय सङ्क्रमितको संख्या बढेर सात लाख २३ हजार पुगेको छ । दैनिक संक्रमणदर पनि बढेर १३ दशमलव २९ प्रतिशत पुगेको छ । हाल भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट सङ्क्रमित हुनेको कुल संख्या चार हजार ३३ पुगेको छ । भारतमा सङ्क्रमणले रफ्तार लिएपछि खुला सीमा रहेको नेपाल उच्च जोखिममा परेको छ ।

नेपालमा पनि दिनहुँ सङ्क्रमितको संख्या बढिरहेको छ । सरकारले सङ्क्रमण रोकथामका लागि विद्यालय बन्दसहितका प्रतिबन्धात्मक उपाय अबलम्बन गर्ने तयारी गरिरहेको छ ।