फाइल तस्वीर
सिन्धुपाल्चोक – गृह जिल्ला पुग्नुभएका प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसद्को गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ ।


बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले ‘पुनःस्थापित सदनबाट नै राजनीतिक समस्याको समाधान निस्कने धारणा व्यक्त गर्नुभयो ।


‘तपाईंहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु । राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाउनुभएको छ, तपाईंको यो विश्वास र भरोसालाई धोका दिने छैन’ सभामुख सापकोटाले प्रतिवद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । कार्यक्रमका सहभागी वक्ताले महिलाद्वारा सञ्चालित सो सहकारी जिल्लामै उदाहरणीय रहेको जनाउँदै अझ प्रगतिको कामना गर्नुभएको छ । सो कार्यक्रममा सहकारीका अध्यक्ष देवकी न्यौपानेले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।