काठमाडौं – जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज शनिबार भएको खेलमा मच्छिन्द्र क्लबले बाजि मारेको छ । फ्रेन्ड्स क्लबको आत्मघाती गोल उपहार पाएर मच्छिन्द्रले स्पष्ट ३ अङ्क बटुलेको छ । मच्छिन्द्र १–० गोलले विजयी भएको हो ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको प्रतिस्पर्धात्मक खेलको ६८ औं मिनेटमा फ्रेन्ड्सका डिफेन्डर रोनिल एन्थोनी पाउलले आत्मघाती गोल गर्दा मच्छिन्द्रको भाग्य चम्कियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा फ्रेन्ड्सका तर्फबाट आत्मघाती गोल हुन पुगेको थियो ।

मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठको क्रसमा सुशीलकुमार थापाले हेड गरेपछि प्राप्त बल क्लियर गर्ने क्रममा रोनिलले आफ्नै पोस्टमा गोल गरेका थिए । त्यो गोल नै मच्छिन्द्रको लागि निर्णायक बन्यो । आजको जितसँगै मच्छिन्द्रले आठ खेल २० अङ्क जोड्दै लिग तालिकाको शीर्ष स्थानमा कायम छ । फ्रेन्ड्स ३ अङ्कसहित पुछारमा छ । फ्रेन्ड्स क्लब रेलिगेसनको सङ्घारमा पुगेको छ ।