काठमाडौं – नेपालमा एक सातादेखि कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ९४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ७६२ जनाको पीसीआर विधि र ३ हजार ५०२ जनको एन्टिजेन विधिबाट सङ्क्रमण भए नभएको परीक्षण गर्दा ९४४ जनामा सङ्क्रमण देखिएको हो ।


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट कसैको पनि मृत्यु भएको छैन । हिजोसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ११ हजार ६०२ जनाको मृत्यु भएको छ । शनिबार २९७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने हाल देशभर ६ हजार १४० सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।


यसैगरी काठमाडौं उपत्यकामा मात्रै आज शनिबार ४८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा सबैभन्दा धेरै ३६२ जना, ललितपुरमा ९४ जना र भक्तपुरमा २५ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


मुलुकभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमित भएका सबैभन्दा धेरै सङ्ख्या काठमाडौं उपत्यकामा रहेको छ । उपत्यकामा कोरोनाको महामारी बढ्ने खतरा देखिएको छ ।