काठमाडौं – साताको पाचौँ कारोबार दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज नेप्स परिसूचकमा ४३ अङ्कको उत्साहजनक वृद्धि आएसँगै परिसूचक बढेर २६ सय ९२ अङ्कमा पुगेको हो । यसैगरी आज नेप्सेमा तीन अर्ब ६७ करोड रुपैयाँको ७३ लाख ३६ हजार कित्ता सेयर किनबेच भएको छ । आज कारोबार सुरू भएदेखि नै उकालो लाग्न थालेको परिसूचक अन्तिमसम्मै बढेर बन्द भएको हो । यससँगै यो साताको पाँच कारोबार दिनमा तीन कारोबार दिन बढेको छ ।

आइतवार ६० अङ्कले बढेको नेप्सेमा सोमबार ३२ र मङ्गलबार ६३ अङ्कको वृद्धि आएको थियो । हिजो बुधबार लगानीकर्ताले नाफा बुक गर्दा नेप्से परिसूचक ३० अङ्कले खुम्चिएको थियो । तीन दिनको वृद्धिपछि नाफा बुक गर्नतर्फ लागेका लगानीकर्ता आजै बजारमा फर्किँदा नेप्से ४३ अङ्कले बढेको हो । योसँगै साताभरमा नेप्से परिसूचक १६८ अङ्कले बढेको छ । परिसूचक बढेपनि आज व्यापार समूह १९ अङ्कले र उत्पादनमूलक समूह ५ अङ्कले खुम्चिएको छ । यसबाहेक अन्य सबै समूहमा उत्साहजनक सुधार आएको छ ।

आज निर्जीवन र जिवन बीमा तथा होटल÷टुरिजम समूहमा उल्लेख्य सुधार आएको छ । नेप्सेमा तेह्रथुम पावर कम्पनी र नेपाल फाइनान्सको सेयर मूल्य समान १०÷१० प्रतिशतले बढेको छ । यस्तै, मध्य भोटेकोसी जलविद्युतको सेयर मूल्य ९ प्रतिशतले बढेको छ । विशेषतः नेपाल राष्ट्र बैंकले लिएको दुई वटा नीतिले नेप्सेमा सकारात्मक सुधार आइरहेको छ । केन्द्रीय बैंकले विदेशबाट हुने अनियन्त्रित आयात नियन्त्रण गर्ने र मुद्रा विदेशिनबाट जोगाउन नयाँ व्यवस्था गरेको थियो । यस्तै, स्थानीय तहको ८० प्रतिशत बजेटलाई निक्षेपका रूपमा गणना गर्न वाणिज्य बैंकहरूलाई अनुमति दिएसँगै नेप्से उकालो लागेको हो ।