काठमाडौं – साताको पहिलो दिन आइतबारदेखि नै लगातार रूपमा उच्च अङ्कमा बढेको सेयर बजार मापक नेप्से परिसूचकमा आज बुधबार बे्रक लागेको छ । तीन दिनमा १ सय ५५ अङ्कले बढेर २ हजार ६ सय बिन्दुमाथि पुगेको नेप्से परिसूचकमा आज ३० अङ्कले गिरावट आएको हो ।

साताको पहिलो कारोबार आइतबार ६० अङ्कले बढेको नेप्से सोमबार पनि त्यसैको निरन्तरता स्वरूप ३२ अङ्कले बढेको थियो भने आइतबार र सोमबारको भन्दा मंगलबार नेप्से परिसूचक ६३ दशमलव ०१ अङ्कले बढेको थियो । तर, बुधबार नेप्से परिसूचक ३० दशमलव ७५ अङ्कले गिरावट आएर २ हजार ६४९ दशमलव २० विन्दुमा झरेको छ ।

त्यस्तै, ठूला कम्पनीको सेयर मूल्यमापक गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ६८ अङ्क, फ्लोट इन्डेक्स २ दशमलव ३६ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ७५ अङ्कले गिरावट आएको छ । बुधबार कारोबारमा आएका २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता सेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार ४ अर्ब ३२ करोड २६ लाख ९ हजार ८२७ रुपैयाँको सेयर कारोबार भएको थियो। कारोबार रकममा भने मंगलबारको तुलनामा बढेको छ ।

नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत् र फाइनान्सबाहेक अन्य सबै उपसमूह राताम्मे भएको छ। जसमध्ये जलविद्युत् उपसमूह ० दशमलव ४९ प्रतिशत र फाइनान्स उपसमूह ० दशमलव १ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक २ दशमलव २१ प्रतिशतले गिरावट आएको छ। उत्पादन तथा प्रशोधन उपसमूह १ दशमलव ७४ प्रतिशत, विकास बैंक उपसमूहको परिसूचक १ दशमलव ७१ प्रतिशतले गिरावट आएको छ । त्यस्तै, बैंकिङ, वित्त, लगानी उपसमूह र अन्य उपसमूहको परिसूचक १ प्रतिशतले गिरावट आएको छ ।

नेप्सेमा गिरावट आए पनि बुधबार मध्यभोटेकोसी जलविद्युत् कम्पनीको सेयर मूल्य ९ दशमलव ९६ प्रतिशतले बढेर प्रतिकित्ता २१४ दशमलव २० रुपैयाँ पुगेको छ । त्यस्तै, विजया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४ दशमलव ५५ प्रतिशतले सबैभन्दा धेरैले घटेको छ । बुधबार कारोबार रकमको आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्टको १८ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।