गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयताको मुख्य उपलब्धि नै प्रदेश सरकार भएकाले नागरिकलाई अनुभूति हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले चौथो र पाँचौँ तहका कर्मचारीका लागि गरेको सेवाकालीन तालिमको सोमबार उद्घाटन गर्दै उहाँले भन्नुभयो,“सङ्घीयता के हो भनेर चिनाउने पहिलो र महत्वपूर्ण अङ्ग प्रदेश सरकार हो, यसको अनुभूति हुने गरी राष्ट्रसेवक निजामती कर्मचारीले सेवा गर्न जरुरी छ ।”

हामीसँग भएको साधन र स्रोतको अधिकतम प्रयोग गर्दै सङ्घीयतालाई मजबुत गर्ने गरी काम गर्नुपर्नेमा जोड दिँदै उहाँले सरकारको स्थायी अङ्ग कर्मचारी जनतासँग दैनिकरूपमा प्रत्यक्ष सम्बन्धित भएकाले जिम्मेवाररूपमा कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । क्षमता अभिवृद्धि र कार्यशैलीमा परिवर्तन ल्याउनका लागि तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले कर्मचारीले जनताको सेवकका रूपमा कार्यसम्पादन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले जसले जहाँ काम गरे पनि नागरिकलाई सम्मानजनक तरिकाले सहजरूपमा सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेशका प्रमुख सचिव रविलाल पन्थले तालिममा जोसुकैले पनि ज्ञान, सीप र व्यवहारमा परिवर्तन गर्ने शैली सिक्ने भएकाले त्यसको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो । रासस