काठमाडौं – राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा हिमालयन शेर्पा क्लबले नवप्रवेशी सातदोबाटो युथ क्लबमाथि जित दर्ता गरेको छ । यो जितसँगै शेर्पा पाँचौं स्थानमा उक्लिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा सोमबार सम्पन्न खेलमा हिमालयन शेर्पाले सातादोबाटोमाथि सङ्घर्षपूर्ण १–० गोल अन्तरले हराउँदै पाँचौ स्थानमा उक्लेको हो । सातादोबाटोका मार्टिन एलडेल्फी सिलोले त्रिदेव गुरुङलाई लडाएपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो । खेलको ४५औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई विश्वास श्रेष्ठले सदुपयोग गर्दै हिमालयनलाई तीन अङ्क दिलाऐ । यो जितपछि हिमालयन शेर्पा नवौ स्थानबाट पाँचौ स्थानमा उक्लिन सफल भएको छ ।
यो जितसँगै सात खेल खेलेका हिमालयन शेर्पाको ११ अङ्क भएको छ । यसअघि १० औं मिनेटमा मिडफिल्डर सुरेश कुमालको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले सहजै नियन्त्रणमा लिएका थिए । २६ औं मिनेटमा सातदोबाटोका मानबहादुर तामाङको प्रहार हिमालयका मुतम्बा पिस्टोनले हेडरमार्फत् क्लियर गरी टिमलाई हारबाट जोगाएका थिए । खेलको ३७औं मिनेटमा मानबहादुरको सट हिमालयका गोलकिपर दिप कार्कीले विफल पार्दा सातदोबाटो अग्रता लिनबाट चुकेको थियो ।
यसैगरी मार्टिनको प्रहार हिमालयनका गोलकिपर दिप कार्कीले उत्कृष्ट बचाउ गरे । खेलको उत्तरार्धको अन्तिम मिनेटमा सातदोबाटोले खेलमा फर्कने अवसरलाई सदुपयोग गर्न नसक्दा हारको सामना गर्नु पर्यो । सातदोबाटोका मार्टिनलाई हिमालयनका अमित श्रेष्ठले लडाएपछि सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो ।
आजको खेलसँगै जारी लिगमा सातौं चरणका खेल सकिएका छन् । सातौं चरणको खेल पश्चात मच्छिन्द्र क्लबले शीर्षस्थान बनाउँदा मनाङ मस्र्याङ्दी दोस्रो स्थानमा छ । सङ्कटा १३ अङ्कका साथ तालिको तेस्रो स्थानमा रहेको छ भने आर्मी क्लब ११ अङ्कका साथ चौंथो स्थानमा छ । सातदोबाटोको भने समान खेलमा आठ अङ्क छ ।