नयाँदिल्ली— भारतमा एक हप्ताको अवधिमा कोरोना भाइरसको सङ्क्रम ह्वात्तै बढेको छ । भारतमा एक साताको अवधिमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पाँच गुणाले वृद्धिभएको भारतको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

त्यहाँको मन्त्रालयले जनाए अनुसार २४ घण्टामा भारतमा ३३ हजार ७ सय ५० जना नयाँ सङ्क्रमित थपिएका छन् । त्यहाँ १ हप्ताअघिसम्म दिनमा ७ हजार ३१ जना नयाँ सङक्रमित थपिएका थिए । कोरोनाबाट दैनिक सङ्क्रमित हुनेको सङ्ख्या झण्डै ५ गुणाले बढेको समाचारमा जनाइएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट एक सय २३ जनाको मृत्यु भएको भने १० हजार आठ सय ४६ जना सङ्क्रमण मुक्त भएका छन् ।

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तीव्र गतिमा फैलिएको छ । ओमिक्रोन भेरियन्टका सङक्रमितको हुनेको सङ्ख्या १७ सय १० पुगेको छ । हालसम्म २३ राज्यमा ओमिक्रोन फेला परिसकेको छ । जसमा सबैभन्दा धेरै महाराष्ट्र, नयाँदिल्ली र केरल बढी प्रभावित बनेका छन् । ओमिक्रोनका सङ्क्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महाराष्ट्रमा सोमबारसम्म पाँच सय १० जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी दोस्रो स्थानमा दिल्ली रहेको छ । दिल्लीमा आजसम्म ३५१ जनामा यो भेरियन्ट पुष्टि भएको भारतीय समाचार माध्यमले उल्लेख गरेका छन् । नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण केरला, गुजरात, तमिलनाडु, राजस्थान लगायत कर्नाटक, हरियाणा, ओडिसा, पश्चिम बङ्गाल, आन्ध्र प्रदेश, मध्य प्रदेश, उत्तर प्रदेश, उत्तराखण्ड लगायतका २३ राज्यहरुमा फैलिसकेको छ ।