वासिङ्टन— युक्रेनको विषयलाई लिएर अमेरिका र रुसबीच तनाव बढ्दै गएको छ । युक्रेनको विषयमा बिहीबारमात्रै अमेरिकी राष्ट्रपति जो बाइडन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलीफोन सम्वाद भएको थियो । अहिले अमेरिकी राष्ट्रपति बाइडेन र उनका सहयोगीले ‘रुसले युक्रेनमा थप आक्रमण गरे निर्णायक जवाफ दिने’ भन्दै रुसलाई चेतावनी दिएका छन् । राष्ट्रपति बाइडनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई आश्वस्त पार्दै यस्तो धारणा व्यक्त गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

अमेरिकी राष्ट्रपति बाइडनले रुसी समकक्षी भ्लादमिर पुटिनलाई युक्रेनको सीमामा भइरहेको सैन्य संकट अन्त्य गर्न आग्रह गरेको केही दिनपछि अमेरिकी राष्ट्रपतिको युक्रेनी राष्ट्रपतिसँग कुराकानी भएको हो । रुस र अमेरिकी अधिकारीहरूले यसै महिनाको अन्ततिर जेनेभामा युक्रेनको विषयलाई लिएर भेटघाट गर्ने कार्यक्रम तय गरेका छन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आइतबार ट्विट गर्दै अमेरिकी राष्ट्रपति बाइडनसँगको टेलिफोन वार्ताले आफूहरूबीचको विशेष सम्बन्धलाई जोड दिएको बताएका छन् । जेलेन्स्कीले युरोपमा शान्ति कायम राख्ने, थप द्वन्द्व चर्किन नदिनेलगायत विषयमा छलफल भएको उल्लेख गरेका छन् ।

अमेरिकी राष्ट्रपति र युरोपेली नेताहरूको चेतावनीको बावजुद युक्रेनी सीमामा झन्डै एक लाख रुसी सेना तैनाथ गरिएका छन् । रुसले अमेरिका र नेटोबाट युक्रेनलाई सैन्य गठबन्धनमा संलग्न नगराउने र पूर्वतर्फ नेटोको विस्तार नगर्ने ग्यारेन्टी खोजिरहेको छ । युक्रेनको विषयलाई लिएर अमेरिका र रुसबीच बढ्दो तनावले युद्धको सङ्केत गरेको छ । यसैबीच अमेरिकी अधिकारीहरुले रुसले युक्रेनमाथि आक्रमण गरे अमेरिकाले त्यसको उचित जवाफ भन्दै रुसलाई चेतावनी दिएको छ ।