बुटवल — सङ्घीय संसदको प्रमुख प्रतिपक्षी दल एमाले नेता समेत रहेका पाल्पाका पूर्वजिल्ला अध्यक्ष र पूर्व सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । पूर्वसांसद रायमाझीले शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान र कम्युनिस्ट आचारणविपरीत अधिनायकवादी सोंचबाट सञ्चालन भएको भन्दै आफु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको बताउनु भएको छ ।

पाल्पामा एमालेको दुई कार्यकाल अध्यक्ष रहेका रायमाझीले ओलीको कारण पार्टीमा चरम विकृति र बिसङ्गति बढेको र त्यसलाई सच्याउन प्रयास गरेपनि असफल भएको भन्दैे एकीकृत समाजवादीले दिने जिम्मेवारी इमान्दारिपूर्वक निभाउने बताउनु भएको छ । रायमाझी तत्कालीन नेकपामा विवाद हुँदा नेपाल–प्रचण्ड पक्षमा हुनुहुन्थ्यो । एमाले विभाजनपछि उहाँ एमालेमै रहनुभएको थियो ।

एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी निर्वाह गर्नुभएका रायमाझीसंगै एमाले जिल्ला कमिटी सदस्यहरु धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, महेश बराल एमाले परित्यागगरी एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको हो । बराल गत स्थानीय निर्वाचनमा रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा उम्मेदवार भएर झिनो मतले पराजित हुनुभएको थियो भने पौडेल साविकको छहरा गाविसका अध्यक्ष हुनुहुन्छ ।