विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले डेल्टा र ओमिक्रोन भेरियन्टका कारण अहिले कोरोना भाइरसको सङ्क्रमणको सुनामी आएको बताएको छ । डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले हाल डेल्टा र ओमिक्रोन भेरियन्टको सङ्क्रमण तीव्र गतिमा बढ्दै गएको बताएका हुन् ।

अमेरिका तथा युरोपका विभिन्न देशमा क्रिसमसपछि कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या अत्यधिक मात्रामा देखिएको छ । फ्रान्समा बुधबार एकैदिन दुई लाख ८ हजार भन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै अमेरिकामा पछिल्लो एक हप्तामा दैनिक रुपमा औसत दुई लाख ६५ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् ।

डेनमार्क, पोर्चुगल, बेलायत, अस्ट्रेलियासहितमा सङ्क्रमण उच्च देखिएको छ । पोल्याण्डमा बुधबार कोभिड–१९ का कारण ७ सय ९४ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा तीन तिहाई भन्दा बढी खोप नलगाएकाहरु रहेका छन् ।

अध्ययनले ओमिक्रोन भेरियन्टको सङ्क्रमण तीव्र भए पनि गम्भीर बिरामी पार्ने सम्भावना डेल्टाको भन्दा ३० देखि ७० प्रतिशत कम रहेको देखिएको छ । तर सङ्क्रमण तीव्र हुँदा स्वास्थ्य सेवालाई गम्भीर रुपमा प्रभावित बनाएको छ । समाचार संस्था रोयर्टसका अनुसार अहिले विश्वव्यापी रुपमा दैनिक ९ लाखजनामा सङ्क्रमण पुष्टि हुने गरेको छ ।