काठमाडौं – नेपाल राष्ट्र बैंकले डलर सटहीमा थप कडाइ गरेको छ । विदेशी मुद्रा सञ्चिती घटेपछि विदेश जाने नेपालीहरुले पाउने २ हजार डलरसम्मको सटही सुविधालाई घटाएर अब प्रतिव्यक्ति १ हजार ५ सय डलरमा झारिएको राष्ट्र बैंकले जनाएको छ ।

विदेशबाट सामान आयात हुने क्रम बढेको र यसले विदेशी मुद्राको सञ्चिती ह्वात्तै घटेको भन्दै गत असोजमा केन्द्रीय बैंकले डलर सटहीमा कडाइ गर्दै २ हजार डलरमा झारेको थियो । राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार अब बाहिरी मुलुकमा जानका लागि पासपोर्ट पेश गरेर १ हजार ५ सय डलरसम्मको सटही सुविधा पाउने भएका छन् ।

यो सुविधा पनि वर्षमा दुई पटक नबढ्ने गरी मात्रै उपलब्ध हुने निर्देशनमा उल्लेख छ । राष्ट्र बैंकले विदेश जान लागेको प्रमाण पेश गरेपछि मात्र डलर सटही गरिदिन पनि निर्देशन दिएको छ । बैंकहरुले सामान्य अवस्थामा तोकिएको सीमा भन्दा बढी सटही सुविधा दिने गरेका कारण विदेशी मुद्रा सञ्चिती धेरै घटेकाले कडाइका साथ सटहीसम्बन्धी नियम कार्यान्वयन गर्न राष्ट्र बैंकले सो निर्णय गरेको हो ।