साङ्केतिक तस्वीर
काठमाडौं – राजधानीमा एक जना महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा आठ जना पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट पक्राउ गरिएको महानगरीय प्रहरीले बताएको छ । बलात्कृत महिनामाथि नौं जनाले सामुहिक बलात्कार गरेका र एक जना आरोपी फरार भएका छन् । उनको खोजि भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मुगुका सात तथा अर्घाखाँचीका एकजना रहेका छन् । उनीहरुले गएको सोमबार साँझदेखि मङ्गलबार मध्यरातसम्म ३४ वर्षकी महिलामाथि सामूहिक बलात्कार गरेको अभियोग छ । काठमाडौंका प्रहरी प्रवक्ता दिनेश मैनालीले ‘पक्राउ परेका सबै युवाहरु वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेको देखिएको छ । उजुरी परेपछि सातजनालाई मङ्गलबार र एकजनालाई बुधबार बिहान पक्राउ गरिएको हो’ भनेका छन् ।

पीडित महिलाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रहरी प्रवक्ता मैनालीका अनुसार बलात्कृत भएकी ३४ वर्षीया महिला सुर्खेतकी भएको र उनको श्रीमान् कामको सिलसिलामा भारतमा रहेको बताइएको छ ।

पक्राउ पर्नेहरुको नाम सार्वजनिक गरिएको छैन । बलात्कारको अभियोगमा पक्राउ परेका मध्ये एकजना ४३ वर्षका र अन्य सातजना २५ वर्षभन्दा कम उमेरका रहेको प्रहरीले बताएको छ । पक्राउ पर्ने मुगु जिल्लास्थित छायाँनाथ रारा नगरपालिकाको वडा नम्बर ६, १०, ११ र १२ का हुन् । यस्तै अर्का एकजना फरार रहेको प्रहरीले जनाएको छ ।