जनकपुरधाम – प्रदेश नम्बर २ को नामकरण र राजधानी टुङ्गो लगाउन संसदीय समिति गठन गरिएको छ । आज मङ्गलबार बसेको प्रदेश सभा बैठकमा सभामुख सरोज यादवको संयोजकत्वमा १६ सदस्यीय ‘राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति–२०७८’ गठन गरिएको हो । दल तथा सांसदहरूले प्रस्ताव गरेको नाममा दुई तिहाइ बहुमत पुग्ने अवस्था नदेखिएपछि दलीय सहमतिको आधारमा संसदीय समिति गठन गरिएको हो ।

समितिको सह–संयोजकमा उपसभामुख उपमा देव, सदस्यहरूमा उपेन्द्रप्रसाद कुशवाहा, किशोरी साह (कमल), जगतप्रसाद यादव, दीलिपकुमार शाह, परमेश्वर शाह, विन्देश्वरप्रसाद यादव, शत्रुधन महतो, शारदादेवी थपा, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सञ्जयकुमार यादव, सावित्रीदेवी शाह, सुन्दरबहादुर विश्वकर्मा र सुरिता शाह रहनुभएको छ ।

सभामुख यादवका अनुसार समितिले १५ दिनभित्र प्रतिवेदन तयार पारेर प्रदेश सभामा प्रस्तुत गर्नेछ । आवश्यक परे समितिले स्थलगत भ्रमण तथा अन्तरक्रिया र छलफल पनि गर्नसक्ने सभामुख यादवले बताउनुभयो । यसअघि नामकरण र राजधानीका लागि संसदीय समिति समेत बनेको थियो । तर सहमति नजुटेपछि निर्वाचन भएको थियो । निर्वाचनमा समेत कुनै प्रस्तावमा दुई तिहाइ बहुमत पुग्न सकेको थिएन ।