फाइल तस्वीर

काठमाडौं – बङ्गलादेशको ढाकामा आयोजित एभिसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष भलिबलमा नेपाल पदक विहिन भएको छ । नेपाल पुरुषतर्फ तेस्रो स्थानको लागि मङ्गलबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित हुँदा पदक विहिन बन्न पुगेको हो ।
उज्वेकिस्तानसँग २५–१५,२५–१७,२५–२२ को सोझो सेटमा नेपालले लज्जास्पद हार व्यहोर्नु पर्योे । लिग चरणको खेलमा भने नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएको थियो । लिग चरणमा बङ्गलादेशसँग ३–० र श्रीलङ्कासँग ३–१ को सेटमा पराजित भएको नेपालले माल्दिभ्सलाई अन्तिम खेलमा ३–० को सेटमा हराउँदै तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग भिडेको थियो ।

उज्वेकिस्तानले नेपालसँग लिग चरणमा हारको बदला दिंदै काँस्य पदक लिन सफल भयो । दुई वर्षअघि नेपालमै भएको प्रतियोगितामा पुरुषतर्फ नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

पाँच वर्षअघि माल्दिभ्समा भएको भलिबल प्रतियोगितामा भने नेपालले काँस्य पदक जितेको थियो । पुरुष भलिबलको चार दशक लामो अन्तर्राष्ट्रिय यात्रामा नेपालले जितेको त्यो नै पहिलो पदक थियो । यस पटक पनि पदक जित्ने महत्वाकांक्षाका साथ बङ्गलादेश पुगेको पुरुष टिम पदक विहिन भयो । उता नेपाली महिला टिमले भने फाइनलमा उज्वेकिस्तानलाई ३–२ सेटले पाखा लगाउँदै उपाधि रक्षा गर्न सफल भएको छ ।