काठमाडौं – बङ्गलादेशमा आयोजना भैरकेको एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि रक्षाका लागि नेपालले आज उज्वेकिस्तानसँग भिड्दैछ । नेपालले लगातार पाँच खेल जित्दै फाइलको यात्रा तय गरेको हो । साविक विजेता नेपाली राष्ट्रिय महिला भलिबल टिमले बङ्गलादेशको ढाकामा आज बिहान सवा ११ बजे उपाधिको लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

छ राष्ट्रको सहभागी रहेको यो प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । सबै पाँच खेल जित्दै १४ अङ्क जोडेर शीर्ष स्थानमा रह्यो । फाइनलसम्म अपराजित रहेको नेपाल त्यही लय कायम राख्दै लगातार दोस्रो पटक उपाधि भित्राउने रणनीतिमा कोर्टमा उत्रने छ । नेपालको फाइनलको प्रतिस्पर्धि टिम उज्वेकिस्तान चार खेल जितेर ११ अङ्क सहित दोस्रो स्थानमा रहँदा फाइनलको यात्रा तय गरेको थियो ।
साविक विजेता नेपालले प्रतियोगितामा श्रीलङ्कासँग ३–२ को सेट खेले यता घरेलु टोली बंगलादेश, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तानलाई सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो । लिग चरणमा उज्वेकिस्तानलाई सोझो सेटमा हराएको नेपाली टिमले फाइनलमा पनि सहज जित निकाल्दै उपाधि रक्षालाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

नेपाली महिला राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणाले विपक्ष टिमको खेलको समीक्षा गर्दै ‘विपक्षी टोली कमजोर छैन । पहिलो खेलमा हामी घुलमिल भइसकेका थिएनौं । श्रीलङ्कासँग दबाबमा खेल्यौ । पछि घुलमिल भएपछि हामी सबै टोलीलाई सोझो सेटमा हराउन सफल भयौं’ भन्छिन् । फाइनलमा पनि सोही अनुसार प्रदर्शन गरेर राष्ट्रलाई फेरी एकपटक स्वर्ण पदक दिलाउनेमा कप्तान अरुणा विश्वस्त देखिन्छिन् ।

सन् २०१९ मा बङ्गलादेशमा नै भएको पहिलो संस्करणमा नेपाल पहिलो पटक अन्तराष्ट्रिय महिला भलिबलको उपाधि चुमेको थियो । पहिलो संस्करणमा बङ्गलादेश पुग्दा पहिलोपटक नेपाली टिमको कप्तानी सम्हालेकी अरूणाले ऐतिहासिक स्वर्ण पदक दिलाएकी थिइन् । पहिलो संस्करणको समूह चरणमा बङ्गलादेश, अफगानिस्तान र किर्गिस्तानमाथि सोझो सेटमा जित निकालेको नेपालले फाइनलमा माल्दिभ्सलाई २५–१३, २५–१२, २५–८ ले पराजित गर्दै ऐतिहासिक स्वर्ण पदक जितेको थियो ।


चालु संस्करणको पहिलो खेलमै श्रीलङ्कासँग खेलेको नेपालले तालमेल नमिल्दा सुरुवाती दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै ५ सेटको खेलमा ३–२ ले पराजित गरेको थियो । त्यसपछि भने नेपालले बङ्कलादेश, माल्दिभ्स, उज्वेकिस्तान र कीर्गिस्तानलाई सोझो सेटमा हराउँदै फाइलनमा पुगेको हो ।