काठमाडौं– त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले दोस्रो जित दर्ता गरेको छ । आज दिउँसो भएको खेलमा सातदोबाटो युथ क्लबलाई २–० गोल अन्तरले हराउँदै जावलाखेल युथ क्लबले तीन अङ्क हाल पारेको छ ।

जावलाखेल टिमका लागि विपिन कँडेल र निकोलस फर्नान्डेसले एक–एक गोलको साझेदारी गरे । खेलको ५० औं मिनेटमा विपिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ७० औं मिनेटमा विदेशी खेलाडी निकोलसले जावलाखेलको लागि गोल थप्दै २–० को जित दिलाए ।

यो जितसँगै जावलाखेलले ६ खेलबाट ७ अङ्क जोड्न सफल भएको छ । सातदोबाटोले ६ खेलमा ८ अङ्क जोडेको छ । साविक बिजेता मच्छिन्द्रले १४ अङ्कका साथ तालिकाको शीर्षस्थानमा रहँदा मनाङ मस्र्याङ्दी फुटबल क्लब १३ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । यसैगरी ६ खेलबाट १२ अङ्क जोडेको सङ्कटा क्लब तेस्रो स्थानमा रहँदा आर्मी १० अङ्कका साथ तालिकाको चौथो स्थानमा रहेको छ ।