सोलुखुम्बु — सोलुखुम्बुस्थित सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा दुई जना इञ्जिनियरको मृत्यु भएको छ । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप विस्फोट हुँदा दुई जना इञ्जिनियरको मृत्यु भएको हो । पानी परीक्षणको क्रममा परियोजनाका व्यवस्थापक गम्भीर घाइते भएका छन् ।


घटनामा परी मृत्यु हुनेमा जलविद्युत् आयोजनाको हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्ट इञ्जिनियर २९ वर्षीय अर्जुन थापा हुन् । उक्त परियोजना निर्माणको जिम्मा पाएको सिई कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर इन्जिनियर गंगेश कर्णका अनुसार इञ्जिनियरको टिम दिनभरि परीक्षणको क्रममा थियो । पानीको प्रेसर नमिलिरहेको बेला पाइपको वेल्डिङ छुट्टिए पुग्दा यस्तो दुर्घटना भएको हो । आइतबार साँझ फलामको पाइपमा पानी हाल्ने क्रममा पाइप पड्किएपछि उक्त घटना भएको थियो ।

पाइप पड्किएर बेहोस भएका इञ्जिनियरद्वय रेग्मी र थापालाई उपचारार्थ ओखलढुङ्गास्थित जिल्ला अस्पताल पुर्याएको थियो । उपचारका लागि अस्पताल पुरÞ्याइएका उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले जानकारी दिनुभएको छ ।

उक्त दुर्घटनामा परी हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर मोहम्मद राइन समेत गम्भीर घाइते हुनुभएको छ । विराटनगर निवासी राइनलाई थप उपचारका लागि हेलिकप्टरद्वारा काठमाडौं लगिएको छ । कम्मरमुनिको भाग चल्न नसक्ने अवस्थाका प्रोजेक्ट म्यानेजर राइनको काठमाडौंको धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।