काठमाडौं – नेपाली राष्ट्रिय महिला भलिबल समूह बङ्गलादेशमा जारी एभीसी एशियन सेन्ट्रल जोन भलिबलको फाइनलमा प्रवेश गरेको छ । नेपालले उज्वेकिस्तानलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । ढाकामा आइतबार उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । साविक विजेता समेत रहेको नेपालले उज्वेकिस्तानमाथि २५–२०, २५–२३ र २५–१४ को जित निकाल्यो । नेपालको यो लगातार चौंथो जित हो ।

यस अघि नेपालले पहिलो खेलमा श्रीलङ्कालाई ३–२ सेटमा हराएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० र तेस्रो खेलमा बङ्गलादेशलाई ३–० को सेटमा हराएको थियो । नेपालले ४ खेलमा ११ अङ्क जोडेको छ । नेपाल शीर्ष स्थानमा समेत उक्लिएको छ । उज्वेकिस्तानको ९ अङ्क रहेको छ । उज्वेकिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ ।

नेपालले अन्तिम खेलमा आज सोमबार किर्गिस्तानको सामना गर्नेछ । महिलातर्फ आयोजक बङ्गलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलङ्का र उज्वेकिस्तान गरी ६ समुह सहभागी छन् । प्रतियोगिताको शीर्ष दुईमा रहने समुहले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । तेस्रो र चौथो स्थानमा रहने समुहले कास्य पदकका लागि खेल्नेछन् । फाइनल खेल भोलि मङ्गलबार हुनेछ ।