फाइल तस्वीर
सल्यान— नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको भावना र चाहना बुझेर मात्र अमेरिकी सहयोग एमसीसी सम्बन्धी प्रक्रिया अघि बढाउने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन सल्यानद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेता नेपालले उक्त धारणा व्यक्त गर्नुभएको हो ।


अध्यक्ष नेपालले एमसीसीको अन्तर्वस्तु र जनताको भावनालाई बुझेर मात्र अघि बढ्ने भन्दै ‘एमसीसीको अन्तर्वस्तु र जनताको भावनालाई बुझेर मात्र यसलाई अगाडि बढाउछौं । एमसीसीको गहिराई नबुझेसम्म प्रक्रिया अगाडि बढ्दैन’ भन्नुभएको छ । समाजवादी प्रेस सङ्गठन सल्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एस)का अध्यक्ष नेपालले आर्थिक सहयोगलाई मात्र लक्षित गरेर एमसीसी पास हुने उहाँको भनाइ छ ।

अध्यक्ष नेपालले वर्तमान गठबन्धनलाई टुटाउन दक्षिणपन्थी शक्ति लागि परेको बताउनुभयो । दक्षिणपन्थी शक्तिको नेतृत्व नेकपा (एमाले) अध्यक्ष केपी ओलीले गर्नुभएको दावी समेत गर्नुभएको छ । अध्यक्ष नेपालले अहिले एमसीसीलाई दाउपेच बनाएर गठबन्धन टुटाउन एमाले अध्यक्ष ओलीले गरेको प्रयास सफल नहुने बताउनु भयो ।

अहिलेको अवस्थामा निर्वाचनमा कुनै एक दलले बहुमत ल्याउन नसक्ने जिकिर गर्दै नेता नेपालले लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि पनि बामपन्थी र लोकतान्त्रिक शक्तिको गठबन्धन अपरिहार्य रहेको बताउनु भयो । आगामी सरकार पनि यसरी मिलिजुलीको सरकार बन्ने दावी समेत अध्यक्ष नेपालले गर्नुभएको छ ।

त्यसैगरी सल्यानमा आयोजित अगुवा कार्यकता प्रशिक्षण सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी नीतिविरुद्ध केपी ओली अघि बढेकाले एमालेबाट विद्रोह गरेको बताउनुभएको छ । कार्यक्रममा पार्टीका कर्णाली प्रदेशका इञ्चार्ज प्रकाश ज्वालाले कर्णाली प्रदेशमा समाजवादी पार्टी अरुसँग प्रतिस्पर्धा गर्ने हैसियतमा भएको बताउनुभयो । ‘सल्यानमा समाजवादी पार्टी अन्य पार्टीसँग प्रतिस्पर्धा गर्ने हैसियतमा छ’ भन्दै नेता ज्वालाले ‘आगामी चुनावमा नेकपा एकीकृत समाजवादीले जित्ने बलियो आधार छ’ भन्नुभयो ।