फाइल तस्वीर

काठमाडौं— नेपाल र बङ्गलादेशबीच यूएईमा जारी एसिसी यू–१९ एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा बङ्गलादेशले २ सय ९८ रनको चुनौतीलाई पछ्याइरहेको नेपालले दरिलो ब्याटिङ गर्न सकेको छैन । फितलो ब्याटिङ गरेको नेपालले २५ ओभरमा ४ विकेट गुमाएर केवल ६४ रन जोडेको छ । खेल अहिलेपनि जारी छ । नेपालका ब्याट्सम्यान चल्न नसक्दा नेपालले लक्ष्य अनुसारको रन बटुल्न सकेको छैन ।

नेपालका प्रारम्भिक ब्याट्सम्यानद्धय अर्जुन कुमाल ५ तथा कप्तान समेत रहेका देव खनालले १२ रन जोडे । सन्तोष कार्की ३ र विकेटकिपरसमेत रहेका अर्जुन साउद १५ रनमा आउट भए । विवेक मगर २४ रनमा खेल्दैछन् । बङ्गलादेशविरुद्ध नेपालले खराब प्रदर्शन गरिरहेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९७ रन जोडेको थियो । बङ्गलादेशका प्रान्तिक नरोज नाबिल एक्लैले एक सय २७ रन जोडे भने विकेटकिपर मोहम्मद फाहिमले ५८ रन बनाउन सफल भए । बङ्गलादेशले चौंथो विकेटका लागि एक सय ७९ रनको साझेदारी गरेको थियो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका नाबिलले एक सय १२ बलमा एक छक्का र ११ चौका प्रहार गरेका थिए ।

नेपालका गुल्सन झा, तिलक भण्डारी र मोहम्मद अदिल खानले एक÷एक विकेट लिए । नेपाल रहेको समूह बीमा श्रीलङ्का र कुवेत पनि रहेका छन् । खराब ब्याटिङले नेपाललाई बङ्गलादेशविरुद्धको खेल जित्न कठिन देखिएको छ ।