फाइल तस्वीर
काठमाडौं – नेपाल र बङ्गलादेशबीच आज एसीसी यु–१९ एसिया कपमा प्रतिस्पर्धा हुँदैछ । नेपाली युवा क्रिकेट टोलीले आज टेष्ट राष्ट्र बङ्गलादेशविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले बङ्गलादेशसँग युनाइटेड अरब इमिरेट्स (यूएई)को सारजाह क्रिकेट मैदानमा खेल्ने छ

बङ्गलादेशसँग प्रतिस्पर्धा गर्न लागेको नेपाली युवा टिमका कप्तान देब खनालले क्रिकेटमा जस्तो सुकै नतिजाको आशा गर्न सकिने बताएका छन् । उनले ‘क्रिकेट ब्याट र बलको खेल हो । त्यो दिन जसले राम्रो खेल्यो त्यही टोलीले जित्ने हो । त्यसकारण हामी कुनै पनि टिमविरुद्ध डराउने पर्ने अवस्था छैन,’ भनेका छन् । यूएई प्रस्थान गर्नेक्रममा नेपाली युवा टिमका कप्तान खनालले ‘हाम्रो लागि यो आफूलाई प्रमाणीत गर्ने राम्रो अवसर हो । यो अवसरलाई हामी स्मरणीय बनाउनेछौं’– भनेका थिए ।

बङ्गलादेशविरुद्ध खेल्न यूएई पुगेको नेपाली टिमको तयारी अपेक्षाकृत थिएन । नेपालले यूएई जानुअघि दुई साताको बन्द प्रशिक्षण गरेको थियो । त्यसअघि यसै प्रतियोगिताका खेलाडी छनोट गर्नका लागि यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता गरिएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि १५ खेलाडीको नाम सार्वजनिक गरिरहँदा नेपाली सिनियर क्रिकेट टोलीका कप्तान, उपकप्तानसहित चार खेलाडीलाई अनुशासनको कारवाही गरेको थियो । यो कारवाहीले युवा टिममाथि नकारात्मक प्रभाव पर्छ कि भन्ने हेक्का समेत क्यानले राख्न सकेन । सिनियर टिमका खेलाडीलाई कारवाही गरेको भन्दै राष्ट्रिय टोलीका खेलाडीहरु विरोधमा उत्रिएपछि यु–१९ टोलीको प्रशिक्षणमा समेत असर गरेको थियो । यो कारवाहीले सिनियर टोलीसँग अभ्यास समेत गर्न पाएनन् ।

प्रशिक्षक बसन्त शाहीले छोटो समयको तयारीका बाबजुदे पनि नेपालले आश्चर्यचकित बनाउने नतिजा निकाल्ने बताएका छन् । प्रशिक्षक शाहीले ‘प्रतियोगितामा टेष्ट मान्यताप्राप्त देशहरु छन् । हामी उनीहरुविरुद्ध आश्चर्यचकित नजिता ल्याएर नकआउट चरणमा स्थान बनाउने लक्ष्यमा छौं’ भनेका छन् ।

नेपालको समूह ‘बी’ मा श्रीलङ्का, कुवेत र बङ्गलादेश र कुवेत रहेका छन् । तुलनात्मक रुपमा समूह ‘बी’लाई सहज मानिएको छ । तथापि, प्रशिक्षक शाहीले कुनैपनि टिमलाई कमजोर मान्न नमिल्लने बताउँदै ‘बङ्गलादेश पछिल्लो संस्करणको विश्वकपको विजेता टोली हो । त्यसकारण हामी सजिलो समूहमा छौं भन्न मिल्दैन । विश्वकपकै साविक टोलीलाई कसरी कमजोर मान्ने ?’ भनेका छन् ।
यसपटक नेपाली युवा टिमको ब्याटिङ पक्ष राम्रो भएको प्रशिक्षक शाहीको दावी छ । नेपालको ब्याटिङ सबै कमजोर मानिंदै आएको छ । प्रशिक्षक शाहीले नेपाली युवा टिमको बलिङ केही कमजोर रहेकोले त्यसलाई केही सुधार गर्नुपर्ने रहेको बताएका छन् ।