नयाँ दिल्ली – भारतमा कोरोना भाइरसबाट थप सात हजार ४ सय ९५ सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ। ती मध्ये २ सय ३६ मा ओमिक्रोन भेरियन्ट देखिएको पनि मन्त्रालयले जानकारी दिएको छ । महाराष्ट्रमा ६५ जना, दिल्लीमा ५४ र तेलङ्गानामा २४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको समाचारमा जनाइएको छ ।

सोही अवधिमा थप ४ सय ३४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ७८ हजार ७ सय ५९ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । पछिल्ला हप्ताहरुमा संक्रमणको तुलनामा मृत्युदरमा भने उल्लेख्य रुपमा कमी आएको देखिएको बताइएको छ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७८ हजार २ सय ९१ रहेको छ। अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ० दशमलव २३ प्रतिशतमात्रै रहेको मन्त्रालयले जनाएको छ। सक्रिय सङ्क्रमितको यो सङ्ख्या ५ सय ७६ दिनको नै सबभन्दा कम रहेको अधिकारीले जनाएका छन् ।

गएको २४ घण्टामा भारतमा ६ हजार ९ सय ६० कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४२ लाख ८ हजार ९ सय २६ जनालाई कोरोना सङ्क्रमण निको भएका छन्। भारतमा कोरोना भाइरस निको हुने दर ९८ दशमलव४१ प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ ।

भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६६ करोड ८६ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ३८ करोड ४० लाखभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ । –रासस÷एएनआई