जनकपुरधाम – नेपाली काङ्ग्रेस प्रदेश २ अधिवेशनअन्तर्गत हिजो बुधबार स्थगित भएको निर्वाचन आज बिहीबार सुरुभएको छ । बिहान ८ बजेबाट सुरु गर्ने भनिएको मतदान डेढ घण्टा ढिलागरी गरी सुरु भएको हो । नेपाली काङ्ग्रेसको प्रदेश नम्बर दुईका लागि भएको निर्वाचनमा संस्थापन र इतरपक्षका सभापति पदका दुवै प्रत्यासीले आ–आफ्नो मत हालेर मतदान सुरु गरिएको त्यहाँको निर्वाचन समितिले जनाएको छ ।

मतदानमा पहिलो मत कृष्ण यादवले खसाले । त्यसपछि उपसभापतिका उम्मेदवार वीरेन्द्र सिंह र त्यसपछि सभापतिका उम्मेदवार रामसरोज यादवले मत खसाएका छन् । सभापति पदका लागि प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र रौतहटका जिल्ला सभापति कृष्ण यादवबीच कडा प्रतिस्पर्धा हुने बताइएको छ । मन्त्री रामसरोज यादबलाई डा. शेखर कोइराला र विमलेन्द्र निधिको समर्थन रहेको छ भने जिल्ला सभापति कृष्ण यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थन छ ।

मतदाताहरुलाई सहिजो होस् र छिटो मतदान होस् भन्ने उद्देश्यले चार वटा बुथ बनाइएको छ निर्वाचन समितिले जनाएको छ । एउटा बुथमा २–२ जिल्लाको मत खसाल्ने व्यवस्था मिलाइएको छ । जसमा सप्तरी–सिरहा, धनुषा–महोत्तरी, सर्लाही–रौतहट र बारा–पर्साको लागि छुट्टाछुट्टै बुथ बनाइएको छ ।
अहिले मतदान जनकपुरधामको गोपाल धर्मशालामा भइरहेको छ । प्रदेशमा ७२ सदस्यीय समितिका लागि १७४ जनाले उम्मेदवारी दिएका छन् । अन्तिम नामावलीअनुसार पाँच जना सदस्य निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समितिले जनाएको छ । बुधबार दुई पक्षबीच कुटाकुट भएपछि मतदान स्थगित भएको थियो । बुधबार साँझ निर्वाचन गराउने कि नगराउने भन्ने विषयमा सभापतिका दुई उम्मेदवारका समर्थकबीच भएको कुटाकुटमा केही कार्यकर्ताहरु घाइते भएका थिए । दुवै पक्षको सहमतिमा आज निर्वाचन भएको हो ।