भद्रकुमारी घले समाजसेवी, साहित्यकार


“राष्ट्रको सेवा गर्ने नीति हो —राजनीति । राजनीति समाज सेवा हो । तर यहाँ अहिले कसैले पनि राजनीति गरेको छैन । देशका निम्ति राजनीतिको लागि त्याग गर्ने नेता को छ र ? सबै आ–आफ्ना डम्फु बजाउने मात्रै छन्, व्यक्तिवादी भए नेताहरु । राष्ट्रघाती भए नेताहरु । यहाँ आ–आफ्ना नीति सबैले चलाएका छन् । काङ्ग्रेसको आफ्नै नीति छ । मधेशवादी दलको आफ्नै नीति छ । राप्रपाको आफ्नै नीति छ । नेपाल कम्युनिस्ट पार्टीको आफ्नै नीति छ । सबैका आ–आफ्नै कुरा छन् । यो राष्ट्रका लागि फलानो नेताले यति गरे भनेर देखाउन सक्नुहुन्छ तपाईं ? तर पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमतको सरकार भएको हुँदा यिनीहरुले केही गर्छन् की ! भन्ने एउटा आशा लागेको थियो ।”
यो भनाई हो, भद्रकुमारी घले–९० को । एक ताका आफ्नो समयमा निकै चर्चा कमाउनु भएकी भद्रकुमारीको जस्तो नाम उस्तो स्वभाव थिएन । थियो त केही गरौं भन्ने जोश र जाँगर । यो ९० वर्षको उमेरमा पनि उहाँमा त्यो जोस र क्रान्तिकारी भाव छचल्किएको भान हुन्थ्यो कुराकानी गर्ने दौरानमा । आम नेपाली समाजले कल्पना गरेभन्दा पृथक छ, उहाँको जीवनचर्या । काठमाडौंको मैतिदेवीमा पिता कृष्णबहादुर घले र माता भक्तकुमारी घलेको कोखबाट तीन दिदी बहिनी र एक भाइमध्येको दोस्रो सन्तानको रुपमा वि.सं. १९८८ साल फागुन १९ गते जन्मनुभएकी भद्रकुमारी राजनीतिज्ञ मात्र नभै इतिहासकार, साहित्यकार, कलाकार र समाजसेवीका रुपमा समेत स्थापित हुनुहुन्छ ।


देशको राजधानीमा जन्मिएता पनि उहाँको बाल्यकाल र यौवनावस्था बाबुआमाको थाकथलो सिन्धुली जिल्लामै बित्यो । परिश्रमी र साहसी महिलाको रुपमा भद्रकुमारीलाई चित्रण गरेको पाइन्छ । हजुरबुवा अमरबहादुर घलेबाट घरमै प्रारम्भिक शिक्षा सुरु गरेको बताउनु हुने भद्रकुमारी घले ‘बाजेले अङ्ग्रेजको छोरीजस्तै पढ्नुपर्छ भन्दै मलाई पढाइप्रति जागरुक गराइरहनुहुन्थ्यो’— भन्नुहुन्छ । आफ्नो अतितलाई संस्मरण गर्दै उहाँ भन्नुहुन्छ ‘त्यतिबेला बाजेले दिन दिनै रामायण, महाभारत पढ्नुहुन्थ्यो । तर मलाई त्यो ज्ञान थिएन । अंग्रेजकी छोरीजस्तो पढ्न पाउने भएँ भनेर दङ्ग पर्दै पढ्न थालें । सारै खुशी लाग्यो । भगवतीतोत्र, गणेशतोत्र र सरस्वतीतोत्र पुस्तिका त सात दिनमा कण्ठस्थ गरें । ५/६ महिनापछि त मामाहरुलाई पढाउने मास्टर बनाइदिनुभो बाजेले मलाई ।’ निम्नमध्यम वर्गीय किसान परिवारमा जन्मनुभएकी भद्रकुमारी आफ्नो इच्छा र चाहनालाई पूर्ति गर्न संघर्षसँग जुध्दै आउनु भयो । उहाँ —‘आफु मामाघरबाट घर जाँदा गाउँमा दुर्गाकवच पढेका, म्याट्रिक हाँसिल गरेकाहरु भएता पनि स्वस्थानीको पुस्तक पढेर सुनाइदिने र सबै गाउँभरिका बुढीहरुको चिठी लेखिदिने भएर पुग्दा स्वस्थानीको बेलामा त आफ्नो खुब भाउ बढ्थ्यो’ भन्नुहुन्छ ।


केही समयको अन्तरालमा आफुलाई अर्काे सौभाग्य जुरेको बताउनुहुने भद्रकुमारी ‘माइला बाले गोरखपुर लगेर पल्टन बजारमा मेल्ट्र«रीको स्कुलमा भर्ना गरिदिनुभयो । त्यहाँ पनि १/२ वर्ष मैले पढ्न पाँए । गान्धीजीको दर्शन मैले त्यही नै पाएँ’ —भन्नुहुन्छ । उज्ज्वल भविष्यको कल्पनाका खातिर वि.सं.२००३ सालमा आफ्नो थाकथलो सिन्धुलीबाट ८/९ दिनको पैदल यात्रा तय गर्दै १५ वर्षकै कलिलो उमेरमा राजधानी आउनु भयो—पढ्नको लागि । अन्न र वस्त्रसहित भरियाको साथलगाएर उज्जवल भविष्यको खोजीले काठमाडौं छिरेको बताउने भद्रकुमारी ‘त्यतिबेला सडक यातायातको कल्पनासम्म गर्न सकिन्थेन । हिडेरै आइपुग्नुपर्ने बाध्यता थियो’– भन्नुहुन्छ ।


पढाइ लेखाइमा मेघावी भद्रकुमारी एक वर्षमै काठमाडौंको बसाइ छोट्याएर लाग्नुभयो भारतको इन्दौर तिर । गान्धी आश्रममा बसेर पाँच वर्षे विनिता (म्याट्रीक) पास गरेकी भद्राले त्यही ९ महिने जनरल नर्सको शिक्षा हालिस गरी वि.सं. २००९ सालमा १६ महिनाको मिडवाइफ नर्सको तालिम लिएको बताउनु हुन्छ । भारतको काशी विद्यापीठ वाराणसीमा वि.सं.२०१७ सालमा शास्त्री (स्नातक) अध्ययन गर्दागर्दै अनायासै नेपाली राजनीतिमा होमिन पुग्दा पढाइमा धक्का लाग्यो । केही वर्ष पढाई बिथोलियो । वि.सं. २०२७ सालमा शास्त्री पास गर्नु भएकी भद्रकुमारी आफुलाई राजनीति गर्ने इच्छा नै थिएन भन्नुहुन्छ । इच्छा थियो त—नेपालमा महिला हक हितका निम्ति केही गरौं भन्ने । सिन्धुली जिल्लाको जनजाति परिवारमा जन्मिएकी घले आफू गाउँकी एक बाख्रा गोठाल्नीकी छोरी भएपनि महिला सङ्गठनबाट माननीय भई महिलाहरुको हक र हितका निम्ति सङ्घर्ष गर्दै आएको बताउनुहुन्छ । सामाजिक कायर्मा दिल फुकाएर काम गर्न रुचाउने भद्रकुमारीलाई २०१८ सालमा जनकपुर अञ्चलका तात्कालीन अञ्चलाधिशले कार्यालयमा बोलाएर अञ्चलको सभापति बनाइ दिएपछि पञ्चायती व्यवस्थाको राजनीतिमा लाग्नु भयो ।


महिलालाई पुरुष प्रधान समाजमा अगाडि बढ्न गाह«ो हुने त्यो समयमा आफ्नो आमालाई आदर्श व्यक्ति मान्ने भद्रकुमारी गान्धी आश्रममा बसेर सन्तबिन बाजेसँगै हिडेर केही गर्ने साहस पलाएकोले राजनीतिमा होमिएकी हुँ भन्नुहन्छ । “एक्लो जीवन, भगवानको वरदान’’ भन्नुहुने भद्रकुमारी साच्चिनै जीविनभर कुमारी भएरै बस्नुभयो । अलिअलि धनसम्पत्ति भएको घले गुरुङ्गको छोरी, बैंशमा धपक्क बलेकी भद्रकुमारीलाई मन नपराउने विरलै थिए होलान । ‘बिहे गर्न भनेर लाहुरेहरु सुनका औँठी बोकेर घरमै आउँथे म हप्काएर पठाउँथे । घर परिवारले विवाह गर्न जोड गरे । तर भानिज दाईले आफ्नी श्रीमतीमाथि दैनिक रुपमा दिएको मानसिक र शारीरिक यातनाको हर्कत र दुष्चरित्र देख्दा वैवाहिक जीवनप्रति घृणा लागेकोले ‘म यस्ता लोग्ने मान्छेको स्वास्नी कहिल्यै बन्दिन’ भन्ने त्यो बालमस्तिस्कमा परेकोे प्रतिविम्बले आफुलाई महिला हक हितका निम्ति र उनीहरु माथि हुने अन्याय र अत्याचारका विरुद्ध लड्न सिकायो’– भन्नुहुन्छ भद्रकुमारी घले ।


तात्कालीन पञ्चायती व्यवस्थाको महिला संगठनबाट वि.सं. २०१९ सालमा पहिलो पटक सांसद् बन्नुभएकी भद्रकुमारी आफु पाँच पटकसम्म माननीय, दुई वर्ष श्रम तथा समाज कल्याण मन्त्री र राजसभा स्थायी समितिको सदस्यसमेत भएर नेपालमा महिला न्यायसम्बन्धी केही गर्नुपर्छ भन्ने भावनाले उत्साहित हुँदै आफु राजनीतिमा प्रवेश गरेको बताउनुहुन्छ । उहाँको बुझाईमा राजनीति राष्ट्रको सेवा, राज्यको सेवा गर्ने नीति हो । देशको वर्तमान अवस्थाप्रति कटाक्ष गर्दै उहाँ भन्नुहुन्छ —‘अहिलेको राजनीति पार्टीगत नीतिमा आधारित छ । देश र जनताकोे प्रतिनिधि हौं भन्छन् हाम्रा नेताहरु ! तर देश र जनताको निम्ति केही काम गरेको देखिंदैन । जनप्रतिनिधिलाई त्यस प्रकारको भावना किन उब्जिदैन ? सबभन्दा खुर्रापाती त कर्मचारी भएका छन् अहिले । निजामती प्रशासन भ्रष्ट छ अत्ति नै । हामी इमान्दार छैनौँ । नियम कानुन कडा बनाउनुप¥यो ।’ उहाँ भन्नुहुन्छ –‘देशमा आशा र भरोषा लाग्दो नेता कोही छैन । छ भने ती नेकपाका अध्यक्ष प्रचण्ड र केपी ओली हुन् । त्यस सिवाय अरु मान्छे कोही राम्रो लाग्दैन मलाई । म एउटा मानवताको नाताले, एउटा नेपालीको नाताले र उनीहरुको व्यवहारको नाताले हेर्छु । देशको लागि पुष्पकमल दाहालले कहिले काङ्ग्रेससँग हात मिलाए, आउ हामी मिलेर देश बनाउँभन्दा उतै मिले, ओलीले बोलाए ओली तिरै मिले । पुष्पकमल दाहाललाई आफ्नो उमेर र परिस्थितिको कारणले पनि देश बनाउन ढिलो भैसक्यो । देश बनाउँ र जनताको भलो गरौं भनेर कहिले काङ्ग्रेस त कहिले एमालेसँग हातेमालो गर्न जानुभएको हो जस्तो लाग्छ मलाई’ ।


वि.सं. २००७ सालदेखि राजनीति सुरु भएको यो देशमा जनताले कुनै सेवा सुविधा नपाएकोमा दुःख व्यक्त गर्नु हुन्छ । आफु माननीय र मन्त्री हुँदा घुसखोरी र भ्रष्टाचारीका विरुद्ध लडेर सबैलाई समान न्याय हुनुपर्छ भन्दै अन्याय, अत्याचार र भ्रष्टाचारको विरुद्धमा लड्दै आएको बताउनु हुने भद्रकुमारीे अतितलाई स्मरण गर्दै ‘देश र जनताको मुक्तिका लागि क्रान्ति गर्नेले सहज बाटो हिड्न पाउँदैन, संघर्ष गर्र्नैपर्छ भन्नुहुन्छ । पञ्चायती व्यवस्थामा पटक पटक माननीय र मन्त्री बनेकी भद्रकुमारीलाई देशमा गणतन्त्र आएपछि कांग्रेसदेखि तात्कालीन एमाले र माओवादीसम्मले आफ्नो पार्टीमा आउन आग्रह गरे । राजनीति तिर खासै चासो रहेन बुढ्यौलीले गर्दा । अल्लि खरो, हठ र क्रान्तिकारी स्वभावकी भद्रकुमारीको त्यसबेला दरवारसँगको सम्बन्ध निकै राम्रो थियो । दरवारलाई पनि चाकडी र चाप्लुसी चाहिने । भद्रकुमारी आफ्नो अतितलाई स्मरण गर्दै भन्नुहुन्छ –‘वि.सं. २०१९ सालको कुरा हो । म माननीय थिएँ । एउटा कार्यक्रममा भाषण गर्दा, लोग्ने मान्छे र स्वास्नी मान्छेमा भेदभाव राख्ने, “यस्तो मुलुकी ऐन चाहिंदैन भनेर पर फ्याँकी दिएँ” राजाबाट लालमोहोर लागेको मुलुकी ऐनलाई त्यसो गर्न नहुँने रहेछ । त्यो कुरा दरवारमा पुग्यो, दरवारमा हङ्गामा मच्चियो । राजावादी देशमा त्यो घटनाले मलाई जेल हाल्ने निधो गरेछन् । राजा महेन्द्रले जे काम गर्दा पनि प्रिन्सेस सरकारलाई सोध्ने गर्थे, त्यतिबेला पनि सोधनी भएछ, प्रिन्सेस सरकारबाट भद्रकुमारी घले त्यस्तो मान्छे होइन, उनले एउटा नारीले आइमाई सम्बन्धमा बोल्नुपर्ने कुरा बोलिन, तर त्यो सरकार विरोधी होइन भनेपछि मलाई छोडिदिए ।’


दरवारको निकट र विश्वासपात्र भएकैले राजसभा स्थायी समितिको सदस्य बन्नुभएकी भद्रकुमारी ‘राजा मासिनुपर्छ, प्रजातन्त्र आउँनुपर्छ, हिन्दुराष्ट्र हुनुहुन्न भन्थेँ । तर प्रपन्नाचार्य हिन्दुराष्ट्र हुनुपर्छ, हिन्दुराजा हुनुपर्छ भन्नुहुन्थ्यो । उहाँको र मेरो यिनै विषयमा निकै चर्काचर्की र झगडा हुन्थ्यो’ —भन्नुहुन्छ । देशमा व्यवस्था परिवर्तन भयो, प्रजातन्त्र आयो । तर देश र जनताको लागि केही भएन । भ्रष्टाचार र कमिशन खोरको जालो फैलिंदै गयो । जनतालाई ज्यादै अन्याय भएर नै माओवादी आन्दोलन उठेको भन्नुहुने भद्रकुमारी ‘यदि अहिलेको दुई तिहाइ बहुमतको सरकारले देश र जनताको हितलाई मध्यनजर गरेर सुधारेन, समय र परिस्थितिलाई बुझेर अघि बढेन भने त्यो माओवादी जनयुद्धको बाउ होइन, बाजेवाला क्रान्ति हुनेछ, यो देश रगतमा चुर्लुम्म डुब्नेछ । त्यो बेलामा उद्धार गर्ने कृष्ण को हुन्छ ! भन्न सकिँदैन, यो अवस्था अवश्य आउँछ ।’


मानिसको भोगाइ भनौं या लेखान्त, कस्तो हुन्छ कसलाई के थाहा । भूत र वर्तमान त सबैले बताउँछन् तर भविष्य कसैले बताउन सक्दैन । यो सब भगवानको लिला हो भन्नुहुने भद्रकुमारी ‘जीवनका अनगिन्ती घुम्ती र संघर्षका बीच प्राप्त भएको माननीय र मन्त्री पद भन्दापनि ९० वर्षको उमेरमा कुन्दनजस्ता वरिष्ठ साहित्यकारले आफु एक जनजातिको छोरीलाई बोलाएर एउटा साहित्यिक कार्यक्रमको प्रमुख अतिथि बनाउँदा त्यो क्षण जस्तो सुखानुभूति जीवनमा कहिले महशुस भएन’— भन्नुहुन्छ ।


मानिसको चोला कहाँ कतिबेला टुङ्गिन्छ, कसलाई के थाहा ! भद्रकुमारीको जीवनमा पनि एक्कासी यस्तै बज्रपात बज्रियो । जीवनको संघर्षशील यात्रामा भद्रकुमारी आफ्नो हृदयविदारक क्षणलाई स्मरण गर्दै यसरी व्यक्त गर्नुहुन्छ —‘हामी दिदीभाई सँगै बस्थ्यौ, पढ्थ्यौं । अकस्मात् भाइ बिरामी भयो बेहोस् भयो । डाक्टर बोलाएर देखाउँदा ढिलो भयो, तुरुन्त खबर गरेको भए हुन्थ्यो बचाउन गाह्रो छ भन्यो । लक्ष्मी पुजाको दिन १९ वर्षको उमेरमै भाइको स्वर्गवास भयो–बनारसमा । सागरमा लगी आफ्नै हातले दागबत्ती दिनुपर्दा अत्यन्तै मर्माहत् हुन पुगें । जीवनमा पीडादायक क्षण यहि हो । त्यो घटना अहिले पनि सम्झन सक्दिन ।’


‘जीवन’ भगवानको अमूल्य उपहार हो भन्नुहुने भद्रकुमारीमा हिन्दु धर्मप्रति अगाध आस्था छ । ‘भगवानकै कृपाले यो नवौं दशकसम्म पनि खुसीसाथ जिएकी छु । पुरुष प्रधान समाजमा आफु एक संघर्षशील छोरी भएकोले आफुमा आँट, साहस र धैर्यताको बाँध बलियो बनाउँदै जीवनमा जति पनि दुःखदायी क्षणहरु आए तिनलाई पार गर्दै यो अवस्थासम्म आएँ’— भन्नुहुन्छ भद्रकुमारी । राजनीतिज्ञ र समाजसेवीमात्र नभै लेखिका र साहित्यकारको रुपमा पनि स्थापित भद्रकुमारीका कथा, कथासंग्रह, निबन्ध, निबन्धसंग्रह, फुटकर कविता, कवितासंग्रह, महाकाव्य, काव्यकृति लगायत एक सय उनान्चालीस पुस्तकहरु प्रकाशित भैसकेका छन् । चित्रकारितामा समेत उहाँको दख्खलता छ । झण्डै झण्डै एक शताब्दीको सङ्घारमा आइपुग्नु भएकी भद्रकुमारीलाई विभिन्न सामाजिक सङ्घसंस्थाले सम्मान गरेका छन् । एक सय चौवालीस वटा सम्मान र कदरपत्रहरु छन् उहाँसँग ।


कुनै पनि सामाजिक संस्था दर्ता गर्न जति सजिलो हुन्छ, त्यसलाई दीर्घकालसम्म चलाउन त्यतिनै कठिन हुन्छ । भद्रकुमारीलाई यो संस्था चलाउन कम्ता समस्या भएन । पञ्चायती शासन व्यवस्थामा हालीमुहाली गरेर बसेको आरोप लाग्दा समेत किन्चित उनमा समाजसेवा प्रति वितृष्णा उब्जिएन । जसरी तसरी पनि भद्रकुमारी घले सेवा सदन चलाएरै आउनु भयो । देशको सत्ता परिवर्तन सँगै नयाँ शासन प्रणाली स्थापित हुँदा उक्त सेवा सदन चलाउन आफु सारै त्राइ÷त्राइ भएर चलाउनु परेको दुख व्यक्त गर्नुहुने भद्रकुमारी ‘कसैले थाहा पाएको भए मलाइ यो सदन चलाउन दिँदैैनथे’ –भन्नुहुन्छ । देश र जनताको हितका निम्ति लड्न धेरै सङ्घर्ष गरेको बताउनु हुने भद्रकुमारी ‘राष्ट्रलाई देन दिने मान्छेलाई कसैले हेर्दैन’ –भन्नुहुन्छ ।


भद्रकुमारी नवौं दशकसम्मको उमेरमा पनि आफु यौवन अवस्थाको जस्तो जोस जाँगर र हिम्मतका साथ सामाजिक सेवामा अहिले पनि सक्रिय हुनुहुन्छ । वृद्धावस्थाले छोपीसक्दा पनि भद्रकुमारी घले सेवा सदन सामाजिक संस्था सञ्चालन गरी सोही संस्थाबाट गरिब, दुःखी र पिछडिएका वर्गका बालबालिकालाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले शिक्षालयदेखि पुस्तकालय, संग्रहालय, त्रिपक्षीय बचत तथा ऋण सहकारी संस्था, वृद्धाश्रम, गुम्बा हुँदै बुवा कृष्णबहादुर घले र आमा भक्तकुमारी घलेको संयुक्त नामबाट कृष्णभक्त अस्पताल निर्माण गर्न अस्पताल दर्ता गराइ सकेको बताउनु हुन्छ । ‘आफ्नो जीवनमा गर्न बाँकी केही छैन, सबै गरिसकें, एउटा अस्पताल बनाउन बाँकी छ’ –भन्नुहुन्छ भद्रकुमारी ।