काबुल – अफगानिस्तानको तालिवान समूहले काबुल शहरको पसलहरूको ‘साइनबोर्ड’मा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिवानको उक्त निर्णयले अन्तर्राष्ट्रिय समुदायमा उसको छविलाई थप चिढ्याउन सक्ने कदमका रूपमा अधिकारकर्मीहरूले व्याख्या गरेका छन् । काबुलका पसल तथा व्यापारिक केन्द्रका साइनबोर्डहरूमा महिलाहरूको सबै फोटो हटाउन सरकारले नगरपालिकाका अधिकारीहरूलाई आदेश दिएको कुरा टोलो न्युजले काबुल नगरपालिकाका प्रवक्ता नेमतुल्लाह बाराक्जाईलाई उद्धृत गरी लेखेको छ ।

सरकारको निर्णयको आधारमा इस्लामी नियमको विरुद्धमा रहेका फोटोहरू विज्ञापन पाटीबाट हटाइने बाराक्जाईले बताएको समाचारमा उल्लेख गरिएको छ । काबुलमा सौन्दर्य सैलूनका मालिकहरूले इस्लामिक इमिरेटको निर्णयको आलोचना गरे र सरकारलाई उनीहरूको व्यवसायमा प्रतिबन्ध नलगाउन पनि आग्रह गरेका टोलो न्यूजले समाचारमा लेखेको छ । काबुलकी सौन्दर्य व्यवसायी शायस्ता सैफीका अनुसार सात वर्षदेखि ब्यूटी सैलुनमा काम गरी आफ्नो १० सदस्यीय परिवारलाई आर्थिक सहयोग गरिरहेको र सरकारको निर्णयले आफूलाई आर्थिक तथा व्यवसायिक सङ्कट पर्ने गुनासो गरिन् । यो निर्णयले महिलाहरूको व्यवसायमाथि नै प्रतिबन्ध र नियन्त्रण गर्ने र आगामी केही दिनहरूमा तिनीहरूले आफ्नो पसलमा ताला लगाइदिने त्रास बढेको उनमा त्रास छ ।

महिला अधिकारकर्मीले सरकारको निर्णयको विरोध गर्दै प्रतिप्रश्न गर्दै भने, ‘महिलाको फोटो हटाई सरकारलाई के फाइदा हुन्छ ? यो महिलालाई सामाजिक उत्तरदायित्वबाट पछि पार्ने कामबाहेक केही होइन ।’ अन्तरराष्ट्रिय सङ्गठनहरूले तालिबानलाई महिलाहरूको अधिकारको उपेक्षा नगर्न र समाजबाट महिलालाई सीमान्त नबनाउन बारम्बार आह्वान गर्दै आएका छन् भने तालिबानले पनि आफ्नो पहिलेको शासनकालमा जस्तो कडा प्रस्तुत नहुने र आफ्ना शुभचिन्तक तथा विपक्षी सबैलाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता प्रकट गर्दै आएको छ । यद्यपि तालिवान सरकारको भनाइ र कार्यशैलीमा भने भिन्नता रहने गरेको अधिकारकर्मीहरूले बताउँदै आएका छन् । उनीहरूले तालिवान समूहले आफ्नै प्रतिवद्धतालाई उल्लङ्घन गर्ने गरेको आरोप लगाएका छन् ।