जनकपुरधाम – महाधिवेशन अघि सम्पन्न हुनुपर्ने नेपाली काङ्ग्रेस प्रदेश २ समितिको अधिवेशन अन्तर्गत मतदानको विषयलाई संस्थापन र संस्थापनइतर पक्षबीच झडप भएको छ । जनकपुरधाममा भइरहेको अधिवेशनमा संस्थापन पक्षका उम्मेदवार कृष्ण यादवले बुधबार नै मतदान गर्नुपर्ने र विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोज यादवले बिहीबारका लागि निर्वाचन सार्नुपर्ने भनेपछि विवाद उत्पन्न भएपछि परिस्थिति कुटाकुटको अवस्थामा पुगेको हो ।

दुई समूहका बीच भएको कुटाकुटमा केही कार्यकर्ताहरु घाइते हुन पुगेका छन् । निर्वाचन समितिले प्रदेश २ मा बुधबार नै निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । कार्यकर्ताहरुबीच विवाद उत्पन्न भै कुटाकुट भएपछि आज गर्ने भनिएको निर्वाचनको कार्यक्रम स्थगित भएको छ । स्थगित भएको निर्वाचन भोलि बिहान ८ बजेदेखि मतदान हुने त्यहाँको निर्वाचन समितिका संयोगक प्रल्हाद गौतमले जानकारी गराएका छन् । दुई नम्बर प्रदेशमा संस्थापन पक्ष र इतरपक्षबीच चुनावी प्रतिस्पर्धा हुनेछ ।