काठमाडौं – सरकारले साफ फुटबल च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलोपटक फाइनलमा स्थान बनाउँदै उपविजेता भएको टोलीलाई जनही ५ लाख नगदसहित सम्मान गर्नुभएको हो ।

१३ औं संस्करणको साफ उपविजेता बन्दै स्वदेश फर्किएको टोलीलाई सरकारले कात्तिक १ गतेको मन्त्रिपरिषद्को निर्णयबाट जनही ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो । सोहीअनुसार सरकारले २३ खेलाडीलाई ५ लाख, तीनजना प्रशिक्षकलाई जनही ३ लाख र ४ अफिसियललाई प्रमाणपत्रसहित सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री महेश्वर गहतराज पनि सहभागी हुनुभएको थियो । साफ फुटबलको इतिहासमा पहिलोपटक फाइनल प्रवेश गरेको नेपाल भारतसँग पराजित भएको थियो ।

पुरस्कार वितरणलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचय बनाउन खेलाडीले गरेको मेहनतप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रममा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी, कप्तान किरण चेम्जोङ र रोहित चन्द भने उपस्थित भएनन् । कप्तान किरण माल्दिभ्समा र रोहित इन्डोनेसियामा व्यवसायिक फुटबल खेल्न गएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह पनि नेपाल बाहिर नै भएकाले उपस्थित भएनन् ।