काठमाडौं – सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त हुनुभएको छ । बैंकको सञ्चालक समितिले पाण्डेलाई २०७८ माघ १२ देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

२०७० सालदेखि कार्यरत पाण्डेले २०७८ सालको असोजदेखि सानिमा बैंककै नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाउँदै आउनुभएको थियो । बैंकिङ क्षेत्रमा २६ वर्ष लामोे अनुभव सङ्गाल्नुभएका पाण्डेले यसअघि नबिल बैंकमा १८ वर्ष काम गरिसक्नुभएको छ ।

कर्जाको विषयमा राम्रो विज्ञता राख्ने उहाँले बैंकको प्रमुख जोखिम अधिकृत र प्रमुख कर्जा अधिकृतको जिम्मेवारी निभाइसकेको सानिमा बैंकले जनाएको छ । पाण्डे सानिमा क्यापिटलको सञ्चालकसमेत भइसक्नुभएको छ ।