इटालियन सिरी ‘ए’ मा लगातार पछिल्ला दुई खेलमा पराजय र एक खेलमा बराबरी खेलेको नापोलीले एसी मिलानमाथि जित निकालेको छ । नापोलीले आइतबार राति भएको खेलमा उपाधिको होडमा रहेको एसी मिलानमाथि १–० गोलको नतिजा निकाल्दै पराजित गरेको हो ।

खेल सुरुभएको पाँचौं मिनेटमै पियोट जिलिनस्कीको कर्नरमा इल्जिफ इलमसले हेडमार्फ्त गरेको गोल नै नापोलीको लागि एसी मिलानलाई हराउन निर्णायक बन्यो । इन्जुरी समयमा एसी मिलानका लागि फ्रांक केसीईले बराबरी गोल त फर्काएका थिए । तर, भिडियो सहायक रेफ्रीले त्यसलाई अफसाइड घोषित गर्दा एसी मिलान नापोलीसँग पराजित हुन पुग्यो । हारपछि मिलानका प्रशिक्षक स्टेफानो पिआलीले भने, ‘‘यो हारबाट म निराश छु । अब हामी घाउहरुमा मल्हम लगाउनेछौं र पुनः अघि बढ्नेछौं ।’’

जितसँगै नापोली एसी मिलानभन्दा एक स्थान माथि उक्लिएको छ । समान ३९ अङ्क भएपनि नापोली गोलअन्तरका कारण दोस्रो स्थानमा छ भने एसी मिलान तेस्रो स्थानमा झरेको छ । हारसँगै एसी मिलानले उपाधि प्रतिद्वन्द्वी साविक विजेता इन्टर मिलानसँगको अङ्क दूरी कम गर्ने मौका पनि गुमाएको छ ।

नापोली यसअघिको तीन खेलमध्ये दुईमा पराजित भएको थियो भने एक खेल बराबरी खेलेको छ । उपाधि प्रतिद्वन्द्वी मिलानविरुद्धको जितसँगै नापोलीको मनोबल बढेको छ । यसअघि नापोलीले ६ खेल खेल्दा एक खेलमात्र जितेको थियो । इटालियन सिरी ‘ए’का अन्य खेलमा गएराति भएका खेलमा फियारेन्टिनाले युडिनेससँग २–२ को बराबरी खेल्यो भने स्पेजिया र इम्पोली तथा साम्पडोरिया र भेनेजियाले समान १–१ गोल गर्दै बराबरीमा चित्त बुझाउन बाध्य भए । यता टोरिनोले भने हेलास भेरोनालाई १–० गोलको अन्तरले हराएर तीन अङ्क हात पारेको छ ।